

उद्योग मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङ्गको भेट




काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र पारस्परिक सहकार्यको सम्भावनाका विषयमा विस्तृत छलफल भएको छ ।
भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक र घनिष्ठ रहेको उल्लेख गर्दै भने, ‘नेपाल र जनवादी गणतन्त्र चीन घनिष्ठ छिमेकी हुन् । हाम्रो सम्बन्ध आपसी विश्वास, सम्मान, सद्भाव र मैत्रीपूर्ण आधारमा अगाडि बढिरहेको छ ।’ उनले यस वर्ष नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउन लागिएको सन्दर्भमा नेपाल–चीनबीचको सम्बन्ध राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले थप गहिरिँदै गएको बताए ।
मन्त्री भण्डारीले चीनसँगको आर्थिक साझेदारीप्रति कृतज्ञता व्यक्त गर्दै नेपालमा रहेका सम्भावित स्टिल खानी, फलाम खानी, तेल र ग्यास स्रोतहरूको खोज, अन्वेषण तथा उपयोगमा चीनसँग सहकार्य विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनले भने, ‘चीनको प्राविधिक तथा लगानी साझेदारीका माध्यमबाट हामी खानी तथा खनिज स्रोतको व्यावसायिक विकास गर्न सक्नेछौँ ।
यसले नेपालको औद्योगिक विकासमा महत्त्वपूर्ण योगदान र्पुयाउनेछ।’ उनले हालै दैलेख जिल्लामा सम्पन्न गरिएको ४,०१३ मिटर गहिरो उत्खनन तथा पेट्रोलियम स्रोत पत्ता लगाउने कार्यलाई ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरेका छन् । उनले भने, ‘यो सफलता ऊर्जा आत्मनिर्भरताको दिशातर्फको सशक्त पाइला हो । दाङ, पाल्पा र सुनसरी जिल्लाहरूमा पनि थप सम्भावना देखिएको छ, त्यसअनुसार विस्तृत अन्वेषणका लागि चीनसँग आर्थिक तथा प्राविधिक सहयोगको लागि लगानी प्रस्ताव गरिएको छ ।’
राजदूत चेन सोङ्गले पनि नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन, निर्माण लगायतका क्षेत्रहरूमा चीनको लगानी तथा सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए। उनले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै खानी तथा खनिजहरूको व्यवसायीक उत्पादनमा चीन सरकारको तर्फबाट सकिने आवश्यक सहयोगका लागि समन्वय गर्ने बताए ।