

एक्कासी बढ्यो अण्डाको भाउ : कारण गर्मी




चितवन । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको जनाइएको छ। अहिले विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको जनाइएको हो ।
यता, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ । पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ । यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । जसले उत्पादन घटाउँछ ।
त्यस्तै, नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ । सङ्घले आजबाट लागू हुने गरी समर्थन मूल्य तोकेको छ । बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट चार सय ८० र मझौला चार सय ५० रुपैयाँ कायम गरिएको छ । दुवैमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि भएको बताइएको छ ।
व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन सात क्रेटको ठूलो तीन हजार ५४० रुपैयाँ र मझौला तीन हजार ३३० रुपैयाँमा बिक्री गर्ने पोखरेलले बताए । चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ देखि ३० हजारमा झरेको पोखरेलले बताए । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न सकेका छैनन् । विद्यालय, क्याम्पस खुलेर र पर्यटक बढेपछि बजारमा अण्डाको माग बढेको उनले बताए । अण्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो ।
धेरै किसान विस्थापितसमेत भएको उहाँ बताउनुहुन्छ । गत वर्ष प्रतिक्रेट रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर तीन सय ५० रुपैयाँमा झरेको थियो । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा छ ।
साथै, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवन र आसपासका जिल्लाबाट यहाँ ल्याइएका नमूना हेर्दा ५० फार्ममा एच ९ ९एचनाइन० रोगको सङ्क्रमण देखिएको छ । यससँगै गम्बारो, साल्मोनेलाजस्ता समस्या छन् । जसले गर्दा अण्डाको उत्पादन घटेको उनले बताए । वर्षात्को समयमा चर्को गर्मीसँगै ढुसीजन्य आहारका कारण रोग बढ्ने र उत्पादन घट्ने उनले बताएका हुन् ।