

प्रधानमन्त्री ओली : यूवाहरु भ्रमित भए परिवर्तन र अग्रगमनले गति नलिने




ललितपुर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब युवाहरू भ्रमित हुने क्रम बढ्दै गएमा आगामी दिनमापरिवर्तन र अग्रगमनको गतिको तेज घट्ने बताएका छन् । उनले राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै युवाहरूले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्ने सुनाएका हुन्।
उनले भने ‘अहिले युवा सङ्घको काँधमा असाधारण जिम्मेवारी रहेको छ । आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहन्छ । सङ्घको नेतृत्वले आफ्नो कार्यकालका लागि सिङ्गो योजना बनाओस् । नयाँ इतिहास कायम राखोस् । असाधारण सक्रियताका साथ काम गरोस्’, अध्यक्ष ओलीले भने, ‘यसले सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध सङ्गठनका रूपमा उभ्याओस् ।’
त्यस्तै, सही ढङ्गले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरू असहिष्णु हुनु हुँदैन भन्ने भाव व्यक्त गरेका उनले इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरू विश्वमा युवाहरूले नै गरेको सुनाए । त्यस्तै, आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन सुझाएका हुन् ।
‘युवाहरू सही बाटोमा अघि बढेमा देश सही बाटोमा अघि बढ्छ । युवाहरूलाई भ्रममा पार्न वा शिथिल पार्ने काम भएमा परिवर्तन र अग्रगमन सुस्त गतिमा अगाडि बढ्न पुग्छन् । युवाहरूलाई उद्यमशीलतातर्फ कसरी अगाडि बढाउने भन्नेमा हामी लाग्नुपर्छ’, भन्दै ओलीले थपे, ‘उही नेता कहिले कहिले आवश्यकताले दोहोरिन्छ । कहिले एक पटकमै उसको परीक्षणबाट असफल हुन्छ । हामीले पार्टीमा ठिक नेतृत्व नपाउँदा आन्दोलन रुमलियो । जनताको बहुदलीय जनवाद जबज पारित भएपछि पनि तत्काल सही नेतृत्व पाएनौँ । जब सही नेतृत्व पायौँ, त्यसपछि पार्टीलाई सु स्पष्ट र मजबुत बनाएर अघि बढ्यौँ ।’
साथै, आफूहरूलाई सिध्याउँछौँ भनेर प्रतिक्रियावादीहरू लागे पनि आफूहरू मजबुत हुन सक्नुमा सही विचार र सही नेतृत्व भएकाले पार्टी एकीकरण गरेर नेकपा बनाएको तर पार्टीमा विभाजन गराइएकाले फेरि पार्टीलाई जस्ताको तस्तै बनाएर अघि बढेको त्यो सामर्थ्य रिजिलेन्स एमालेसँग भएको ओलीको बुझाई छ ।
कार्यक्रमको अन्तिममा उनले भने ‘अहिले अर्थविनाको युवा युवा भनेर उचाल्ने प्रवृत्ति छ । जहाँ पनि युवा मात्रै भनेर हुँदैन । कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ? दक्षता, सीप र अनुभव आदि कुराहरू चाहिन्छ, कुनै पनि व्यक्तिभित्र घमन्ड पसेपछि ऊ बिग्रने बाटोमा जान्छ । हाम्रा युवाहरू दम्भी, घमन्डी हुनेछैनन् । क्षमतावान् विनयी र शालीन हुनेछन् । गुन्डा हुने छैनन्, बलवान हुनेछन् । कसैले गालामा पिट्न आएमा ओम शान्ति।।।भनेर चाहिँ बस्दैनन् । त्यसकारण युवा सङ्घले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ ।’