

यूनाइटेड अजोड इन्स्योरेन्सले बोलायो बार्षिक साधारणसभा




काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले बार्षिक साधारणसभा डाकेको छ। सोही कम्पनीले असार ३० गते सोमबार ३१औं सभा गर्ने भएको हो ।
कम्पनीका अनुसार सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्टमा बिहान साढे १० बजे हुने छ भने सोही सभाले सञ्चालक समितिबाट यसअघि नै प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने रकम २१ करोड रुपैयाँ बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतले हुन आउने रकम १ करोड १० लाख ५२ हजार रुपैयाँ बराबरको नगद लाभांश कर समेत सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यता, नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड कायम गर्न निर्देशन दिएकाले कम्पनीले यसअघि नै १५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।
तर बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले हकप्रद प्रतिशतलाई परिमार्जन गरेर १० प्रतिशत अर्थात् १०० कित्ता बराबर १० कित्ता हकप्रद निष्कासन गर्ने गरी परिमार्जन हुनेछ। सोही सभाले गत आर्थिक वर्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ ।
साथै, सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाका लागि तय गरिएको हो। त्यस्तै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यस कम्पनीले यही असार १९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा असार १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनी मात्रै सभामा भाग लिन र सो सभाले पारित गर्ने लाभांश प्राप्त गर्न योग्य हुने यूनाईटेड अजोड इन्स्योरेन्सले जानकारी दिएको छ।