

रामेछापको तामाकोशी नदीमा निमार्णाधीन पुलको स्पान भाँचियो




रामेछाप । मन्थली नगरपालिका–६ कुनौरी र वडा–७ भटौली जोड्ने तामाकोशी नदीमा निमार्णाधीन मोटरेबल पुलको बीच भाग स्ल्याब भाँचिएको खबर छ । उक्त पुल आज बिहान भाँचिएको जनाइएको हो ।
सोही स्थानमा यो भन्दा पहिले पनि पुल निमार्णको काम अन्तिम चरणमा पुगेका बेला कुनौरी तर्फ पर्ने एउटा स्ल्याब भाँचिएको थियो ।
सडक विभागको पुल शाखाले २०७८र०७९ मा टेण्डर आह्वान गरेसँगै कालिका कल्पवृक्ष जेभीले २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा २०८२ साल भदौ महिना भित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । दुई सय ३० मिटर लामो पुलको चौडाई ११ मिटरको रहेको छ ।
साथै, निमार्णाधीन पुल सदरमुकाम मन्थली हुँदै क्षेत्र नम्बर २ को खाँडादेवी, दोरम्वा शैलुङ्ग र सुनापति गाउँपालिकासँग प्रत्यक्ष जोडिन्छ । तामाकोशी नदीको पुल भाँचिएसँगै मापदण्डको विषय उठेको मन्थली नगरपालिका–७ भटौलीका रामचन्द्र शर्माले बताए ।