

‘टेक एण्ड पे’ को समस्याले समाधानको मोड नसमाएको भन्दै इप्पानले आन्दोलन गर्ने




काठमाडौं । ‘टेक एण्ड पे पीपीए’ सम्बन्धी प्रावधान हटाउ अर्थमन्त्री बिष्णु पौडेल नतातेको भन्दै अब स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पान आन्दोलनमा उत्रिने भएको छ । आफ्नो जायज माग सरकारले बेवास्ता गरेको उनीहरुको आरोप लगाएका हुन् ।
ठीक यही बेलामा नेपालको विद्युत उत्पादन क्षमता ३ हजार ६०० मेगावाट पुग्दा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको निजी क्षेत्रलाई पाखा लगाउने गरी आएको टेक एण्ड पे लिउ र तिर विद्युत खरिद व्यवस्थामा बैंकले लगानी नै नगर्ने हुँदा निजी क्षेत्रले अध्ययन गरिरहेका १७ हजार मेगावाटका ३५० बढी आयोजनामा गरिएको ६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएपछि इप्पानले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताइएको छ।
यता, सोही इप्पानद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिए अनुसार–‘निजी क्षेत्रले ऊर्जा क्षेत्रमा यसरी आक्रामक रुपमा लगानी गरिरहेको बेला नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि २०८२ साल जेठ १५ गते सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा ‘रन अफ रिभर आयोजनाको टेक एण्ड पे (लिऊ र तिर) आधारमा पीपीए गरिनेछ’ भन्ने घोषणाले १७ हजार ११७ मेगावाट क्षमताका ३५० बढी आयोजना निर्माण हुने बाटो बन्द हुनुको साथै यसमा निजी क्षेत्रबाट भइसकेको ६६ अर्ब २२ करोड रुपैयाँ लगानीसमेत डुब्ने भएपछि इप्पानले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, ऊर्जा मन्त्री, अर्थमन्त्री, मुख्यसचिव लगायतसँग भेटघाट तथा ज्ञापनपत्र बुझाएर उक्त बुँदा सच्याउनको लागि अनुरोध गरेकोमा कुनै पनि निकायबाट माग पुरा गर्ने सम्बन्धमा गम्भीर नभएपछि इप्पानद्वारा पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।’
इप्पानका अनुसार असार ६ गते एकपटक प्रधानमन्त्री, ऊर्जामन्त्री र अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, असार ७ गते प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई एसएमएस पठाएर टेक एण्ड पे फिर्ता लिन अनुरोध गर्ने रहेको छ ।
यस्तै, असार ८ गते सामाजिक सञ्जालमा ‘टेक एण्ड पे पीपीए’ नीति फिर्ता लेउ भन्दै सन्देश लेख्ने, असार ९ गते टेक एण्ड पे को असरका बारे निजी क्षेत्रका विभिन्न संघ संगठनहरुसँग छलफल गरी संयुक्त धारणा सार्वजनिक गर्ने र असार १० गते प्रतिनिधि सभाका सभामुख र प्रमुख सचेतकहरुलाई टेक एण्ड पे फिर्ता लिनको लागि सामुहिकरुपमा एसएमएस पठाउने कार्यक्रम तय गरिएको इप्पानका कार्यबाहक अध्यक्ष मोहनकुमार डाँगीले बताएको अवस्था छ।
साथै, प्रतिनीधि सभाबाट बजेट तथा कार्यक्रम पारित हुँदासम्म टेक एण्ड पे पीपीए नहटाएमा दोस्रो र तेस्रो चरणमा आयोजनाको चाबी सरकारलाई बुझाउनेसम्मको शसक्त आन्दोलन गर्ने पनि डाँगीले बताएका छन्।