

नेशनल लाइफले डाक्यो वार्षिक साधारण सभा, अगामी असार ५ गते सम्पन्न हुने




काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रको पुरानो तथा ठूलो मध्येको एक नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक साधारण सभा डाकेको छ । लाइफ इन्स्योरेन्सको सभा आउँदो असार ५ गते लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे सम्पन्न हुनेछ भने सो सभा सैंतीसौं वार्षिक साधारण रहेको जनाइएको हो।
उक्त सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको १० प्रतिशत नगद लाभांश तथा ५ प्रतिशत बोनस शेयर कर सहित ०।७८९४७३ प्रतिशत नगद लाभांश समायोजन गर्ने भएको छ।
त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्ष नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका कार्य सोही सभाबाट पारित हुनेछ।
सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पास गर्ने तालिका रहेको छ।
सोही सभाबाट संस्थापक समूह ‘क वर्ग’ बाट ३ जना र सर्वसाधारण लगानीकर्ता ‘समूह ख’ बाट २ जना सञ्चालकको निर्वाचन गरिनेछ।
साथै, साधारण सभा एवम् लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ भने जेठ २१ गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको सभामा सहभागी हुने तथा लाभांश हात पार्न सक्ने नेशनल लाइफ इन्स्योरेन्स कपनीले जनाएको हो ।