

अध्यक्ष ओझालाई सुनाइयो क्यासव्याकको जगजगी, विश्वास बढ्ने गरी काम गर्नु : ओझा




काठमाडौं । बीरगञ्जस्थित बीमकका प्रदेश कार्यालय प्रमुखहरुसँग अन्तक्र्रिया गर्दै नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा आज बीरगञ्जमा बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरुसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । सोही कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीका प्रदेश कार्यालय
प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।
यता, अध्यक्ष ओझाले बीमा कम्पनीहरूको जोखिमाङ्कन सही भएमा दाबी भुक्तानीमा समस्या नआउने उल्लेख गर्दै जोखिमाङ्कन सही रुपमा गर्न र बजारमा कसैलाई पनि समस्या नआउने गरी बीमा ऐन नियम बमोजिम काम गर्न निर्देशन दिए ।
अध्यक्ष ओझाले प्रदेश तथा स्थानीयस्तरमा बीमा सम्बन्धी कुनै समस्या वा गुनासो भए प्राधिकरणलाई जानकारी दिन आग्रह गरे ।
कार्यक्रममा बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूले प्रदेश कार्यालयमा पर्याप्त अधिकार नभएको र जनशक्ति समेत पर्याप्त नरहेको, कृषि बीमाको सिफारिश लिन र क्षतिको निरिक्षण गर्न कठिनाई हुने गरेको, क्यास ब्याकमा चलखेल हुने गरेको,
अस्वस्थ प्रतिस्पर्धा हाबी हुने गरेको, बीमा सम्बन्धी जनचेतना बढ्न नसकेको र दाबी प्रक्रियालाई सरल बनाउन आवश्यक देखिएको लगायतका धारणा कडा रुपमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बीरगञ्जस्थित जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूको सहभागिता रहेको जनाइएको हो ।