

यातायात व्यवस्था कार्यालय झापाले ९ महिनामा जम्मा गर्यो ८२ करोड १६ लाख राजस्व




भद्रपुर । चालु आर्थिक वर्षको ९ महिनामा यातायात व्यवस्था कार्यालय झापाद्धारा ८२ करोड १६ लाख ४८ हजार चार सय दुई रुपैयाँ राजस्व जम्मा भएको अवस्था छ। उक्त कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार एक सय १६ राजस्व जम्मा गरेको जनाइएको हो ।
यता, चालु आवको चैत महिनासम्म सवारी साधनको कर संकलन बापत ६९ करोड छ लाख २२ हजार पाँच सय ४२ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी बापत ९६ लाख ६० हजार छ सय ६७ रुपैयाँ, सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत १२ करोड १२ लाख ८९ हजार छ सय ५१ राजस्व रुपैयाँ संकलन भएको कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिएका हुन्।
त्यस्तै, चालु आवको नौ महिनामा जिल्लामा नौ हजार नौ सय ५४ नयाँ सवारीसाधन दर्ता भएका कार्यालय प्रमुख सापकोटाले बताए । उनका अनुसार गत आव २०८०/८१ को अन्त्यसम्ममा जिल्लामा दुई लाख छ हजार आठ सय ८४ सवारी साधन दर्ता रहेका थिए ।
साथै, कार्यालय प्रमुख सापकोटाका अनुसार चालु आवको नौ महिनामा सबैभन्दा धेरै नयाँ मोटरसाइकल तीन हजार दुई सय ३६ दर्ता भएका छन । यसैगरी ई–रिक्सा दुई हजार पाँच सय ४९, स्कुटर दुई हजार तीन सय ४५, ई–स्कुटर पाँच सय ७९, कार एक सय ८०, ट्र्याक्टर एक सय ७६, जिप एक सय ६८, बस एक सय आठ, ई–कार ९३, ट्रक ५२, ट्रिपर २०, माइक्रो १९, एम्बुलेन्स चार वटा नयाँ दर्ता भएके जनाइएको हो।