

राष्ट्रपतिले प्रस्तुत गरे नीति तथा कार्यक्रम, आर्थिक सुधारमा जोड दिइने




काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । उनले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका हुन्।
सोही नीति तथा कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोगको प्रतिवेदन आयोगको प्रतिवेदन कार्यान्वयन गरिने उल्लेख गरेको देखिन्छ ।
यता, नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अहिले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्। राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरेका हुन्।
साथै, सचिवालयले विशेष प्रवेश पाससहति ४०० भन्दा बढी अतिथिलाई नीति तथा कार्यक्रम प्रस्तुत समारोहमा निमन्त्रणा गरेको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
त्यसरी नै सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।
यही वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था रहेको बताइएको हो।