

यातायात कार्यालय हेटौंडाले ४५ करोड राजस्व, ९ महिनामा संकलन गर्न सफल




बागमती । यातायात व्यवस्था कार्यालय हेटौंडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को ९ महिनाका अवधिमा ४५ करोड ६६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको जनाइएको छ ।
त्यस्तै, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१/८२ को साउनदेखि चैत महिनासम्ममा सो कार्यालयले ४५ करोड ६६ लाख ८५ हजार पाँच सय ९० रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिएका हुन्।
यता, कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको नौ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट सात करोड आठ लाख ७१ हजार तीन सय १४ रुपैयाँ, सवारी करबाट २८ करोड २७ लाख ३७ हजार दुई सय ९९ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट सात करोड १५ लाख ७६ हजार नौ सय ९२ रुपैयाँ, सङ्घीयतातर्फ तीन करोड १४ लाख ९१ हजार नौ सय ५३ रुपैयाँ तथा बेरुजुबाट आठ हजार दुई सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल दुई हजार दुई सय ३४ वटा, साना सवारी आठ सय ४७ वटा, टेम्पोरई–रिक्सा छ सय २६, ठूला तथा मझौला सवारी छ सय २४ वटा र ट्याक्टर ११ गरी चार हजार तीन सय ५१ नयाँ सवारी दत्र्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।
यस अवधिमा नयाँ चार हजार सात सय ८१ र वर्ग थप दुई हजार एक सय ६१ गरी पाँच हजार तीन सय ५९ जनालाई सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
साथै, सोही अवधिमा चार हजार सात सय ८१ नवीकरण, ७६ प्रतिलिपी र ६३ वटा नवीकरण र प्रतिलिपी दिइएको बताइएको छ । उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा ५६ करोड सात लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको जनाइएको हो।