

पर्साको प्रहरीले सानोपाइला सहकारीको अनुसन्धान सक्दा, रवि लामिछानेविरुद्ध ५ करोड बिगो माग




काठमाडौं । पर्साको सानोपाइला बचत सहकारीको रकम अपचलनबारे अनुसन्धानको कार्य सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको अवस्था छ। सोही अनुसन्धानबाट बिगो माग गरिएको समेत जनाइएको हो ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रबार प्रतिवेदन बुझाएको एसपी गौतम मिश्रले जनाए। प्रहरीले सानोपाइला सहकारीमा ठगी र संगठित अपराध कसुरमा अनुसन्धान सकेको र ४१ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस भएको जनाइएको हो ।
उनका अनुसार ३० जना व्यक्ति र ११ वटा संस्थारकम्पनीविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको हो। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशी पनि प्रतिवादी छन्।
यता, प्रहरीले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरेको छ। सभापति लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३ सय ३३ रुपैयाँ र जोशीको हकमा ३ करोड २४ लाख ३२ हजार ९ सय ९९ रुपैयाँ बिगो मागदाबी भएको छ।
साथै, सहकारी ठगी फरार रहेका जिबी राईलाई १० करोड ८१ लाख ५२ हजार ४ सय ६९ रुपैयाँ र कुमार रम्तेलसँग १५ करोड ५३ लाख ५३ हजार ३ सय ४६ बिगो मागदाबी गरेको जनाइएको छ ।