

नेपाल राष्ट्र बैंककी कामु गभर्नर ढुङ्गानाले भनिन्-अर्थतन्त्रले सुधारको लय समातेको छ




काठमाडौं । नेपाल राष्ट्र बैंककी कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले अर्थतन्त्रले सुधारको लय समातेको बताएकी छिन् । विगत केही वर्ष यता अफ्ठ्यारो परिस्थितीबाट गुज्रिएको अर्थतन्त्रले केही सुधारको लय पकडेको उनले सुनाएकी हुन्।
त्यस्तै, निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु तथा पुँजीगत खर्च कम हुनु जस्ता चुनौती नेपाली अर्थतन्त्रसामु रहेको उनले स्पष्ट पारिन्। नेपाल राष्ट्र बैंकको आइतबार ७० औं वार्षिकोत्सव कार्यक्रममा ढुंगानाले सो कुरा स्पष्ट पारेकी हुन्।
उनले नेपालको बाह्य क्षेत्र सबल बन्दै गएको भए पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु र पुँजीगत खर्च नहुनु जस्ता चुनौती रहेको बताउदै चालू आर्थिक वर्षबाट मुलुकको सबै स्थानीय तहमा बैंकको शाखा कार्यालय पुगेको खुलाइन ।
कामु गभर्नर ढुङ्गानाले अर्थतन्त्र क्रमशः लयमा फर्किंदै गएको बेलामा कर्जा विस्तार समेत सकारात्मक रहेको सुनाइन। उनले हालै भएका कानुनी सुधारहरूले अर्थतन्त्रलाई चलायमान बनाउन थप सहयोग पुगेको र नीतिगत बाधाहरूको सुधार भइरहेको भए पनि पुँजीगत खर्च अपेक्षा अनुसार नबढ्नुलाई अर्थतन्त्रको कमजोर पक्षका रूपमा समेत टिप्पणी गरिन्।
साथै, ढुङ्गानाले बैंकहरूको सम्पत्तिको गुणस्तर घट्नु ठूलो चुनौती बनेको बताउदै नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङमा उल्लेख्य फड्को मारेको र आर्थिक कारोबारलाई थप सुधार गर्न विभिन्न पहलहरू भइरहेको सुनाएकी हुन् ।