

उर्जा उत्पादकहरु भन्छन्-‘बीमा कम्पनीले बीमा पढाउने भन्दा पनि भुक्तानी दिने हो’




काठमाडौं । जलविद्युतकर्मी (उर्जा उत्पादकहरु) बीमा कम्पनीहरुको नाम सुन्दा निकै आजित/हैरान हुने गरेको देखिएको छ । त्यसमा पनि विशेष गरेर नेपाली बीमा कम्पनीहरुले भुक्तानी दिन आनाकानी गरेको उनीहरुको आरोप छ भने विदेशी बीमा कम्पनीहरुसँग प्रत्यक्ष व्यावसायीक वातावरणको माग हुन थालेको हो ।
बीमा कम्पनीहरुले व्यावसाय लिन हानाथाप गरे जस्तै भुक्तानी दिने कुरामा पनि तिव्रता दिनु पर्ने उनीहरुको मुख्य माग छ । यता बीमा कम्पनीहरुले विगतमा केही बीमाहरुको पुनर्बीमा नै नहुने गरेकाले समस्या निम्तिएको भन्दै अहिले हरेक जोखिमलाई पुनर्बीमा गरिने बरु बीमाशुल्क केही महङ्गो लिएर भए पनि समयमै भुक्तानी दिने अवधारणा अघि सरेको बताउँछन् ।
बीमा दर्पण डटकमसँगको भेटमा एक जलविद्युत् क्षेत्रका जानकारले सुनाए,‘हामीले बीमा एउटै कारणका लागि गर्छौ । त्यस्तो कारण भनेको कुनै पनि बेलामा हाम्रो आयोजनामा क्षती भयो भने बीमा कम्पनीले पैसा दिन्छन् भनेर हो । तर, यहाँ त बीमा कम्पनीहरुले कहिले के पुगेन भन्ने, कहिले सर्भेयरले ढिलो गर्यो भन्ने कहिले निकै ठूलो दाबी गरेकाले समय लाग्छ भन्ने अनेकथरी भन्ने गरेका, दाबी दिनुको सट्टा बीमा पढाउने गरेका छन् । खासमा भुक्तानी दिने बेलामा बीमा पढाउने होइन । अनि अर्को कुरा पुनर्बीमा भएन भन्ने गरिन्छ । खासमा पुनर्बीमा गर्ने काम हाम्रो होइन नी । हामीले लाग्ने लागत तिर्ने हो । त्यसरी पैसा तिरेपछि बीमा कम्पनीहरुले समयै पैसा दिनुपर्छ ।’
उनीहरुले थपे,‘समयमा दाबी तिर्न नसक्ने भए पनि हामीलाई खुलस्त भन्नु पर्यो । हामी निर्माण व्यावसायहीहरुले पनि समयमै अरु विकल्प खोज्छौं नि । बीमा गर्ने नगर्ने भन्ने हाम्रो हातमा छ । हामीले बीमा नगर्ने भन्यौ भने हामी त जोखिममा पर्छौ पर्छौ उता निर्जीवन बीमा कम्पनीहरुकै सबैभन्दा ठूलो हिस्साको व्यवसाय गुम्छ । उहाँहरुले कि त हामीबाट विश्वास कमाउनु भर्यो त्यसको लागि समयमै प्रोफेसनल पाराले, बैंक वित्तिय,संस्था जस्तो अनुशासनमा बसेर पैसा दिनु पर्यो । होइन भने हामीलाई विदेशको अन्य बीमा कम्पनीमा गएर बीमा गदिर्ने बाटो खुला गरे पनि भइहाल्यो नि ।’
जलविद्युत् व्यावसायीहरुले निकै ठूला ठूला आयोजनाहरु महिनै वर्षैनि बढिरहेको बेलामा एकातर्फ नेपालका बीमा कम्पनीले पनि सबै जोखिम लिन्छौ भनेर धेरै ठूलो लोभ गर्न नहुने विश्लेषण गरिरहेका छन् भने अर्कोतिर बजार बिस्तार गर्ने तरिका आफ्ना बीमित, ग्राहकको पैसा रोकेर भन्दा पनि सरल भुक्तानी बनाएर मात्रै सम्भव रहेको बताएका हुन् ।
केही जलविद्युत कम्पनीहरुले भने आफूहरुकै निकै मोटा रकमका दाबी–भुक्तानी बीमा कम्पनीबाट पाउँन बाँकी रहे पनि दाबी पाइएन भन्ने प्रचार गर्नु भन्दा पनि चुपचाप धैर्य गर्नुको विकल्पन नरहेको बताए । कतिपय अवस्थामा बीमा दाबी रोक्किएको खबरले उल्टै बीमा कम्पनीहरुसँग हुँदा खाँदाको सम्बन्ध बिग्रीएको र पैसा पाउँने समय थप लम्बिएको उनीहरुले गुनासो गरे ।
यसबाट जलविद्युतकर्मीहरुको गुनासो सम्बोधन हुने किसिमले बीमा कम्पनीहरुले आफ्नो नयाँ रणनीतिहरु छिट्टै ल्याउँनु पर्ने देखिएको छ भने जलविद्युत कम्पनीहरुले पनि भुक्तानीको शर्त पालन गर्ने कम्पनीहरुको शुसासन र पारदर्शीतालाई महत्व दिँदै कम्पनी छनोट गर्नु पर्ने देखिन्छ ।
यता सरोकारवाला निकाय नेपाल बीमा प्राधिकरणले पनि विदेशी बीमा कम्पनीहरुले त्यहाँका जलविद्युतकर्मीहरुलाई छिटो छरितो भुक्तानी दिने गरेका अभ्यासहरु पत्ता लगाएर नेपालमा समेत निर्जीवन बीमा उद्योग बदनाम हुनबाट र देशका अर्बौ रुपैयाँ बराबरका आयोजनाहरुलाई बीमाको दायरामा ल्याउँन चनाखो भएर प्रभावकारी भुमीका खेल्नु पर्ने देखिन्छ ।