

एनएमबि बैंकमा सीईओ गोविन्द घिमिरेले सम्हाल्न सुरु गरे कार्यकाल




काठमाडौं । एनएमबि बैंकका नयाँ प्रमुख कार्यकारी अधिकृत सीईओ गोविन्द घिमिरेले औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । यस अघिका सीईओ सुनिल केसीको कार्यकाल सक्किएसँगै घिमिरेले आज बुधबारदेखि चारवर्षे कार्यकाल सम्हालेको बैंक स्रोतले जनाएको हो।
उनले तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका छन् भने विगत १६ वर्षदेखि घिमिरे एनएमबि बैंकसँग आबद्ध छन् । बैंकको विभिन्न विभाग तथा शाखाहरू समेतको नेतृत्व गरेर कार्य अनुभव हासिल घिमिरे यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहेको जनाएको छ।
यता, सीईओ घिमिरेले कार्यभार सम्हाल्दै बैंक सञ्चालक समिति तथा व्यवस्थापनसमक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि बैंकलाई अझ प्रभावशाली बनाउने बताए । ‘मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ,’ उनले भने, ‘डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौँ ।’
यता, आजैका मितिबाट लागु हुने गरी बैंकका हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । स्वदेशी तथा विदेशी बैंकहरूमा कार्य गरी अनुभव प्राप्त गरेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्धका साथै बैंकिङ व्यवसायमा गहिरो ज्ञान भएका बैंकर रहेको जनाइएको हो ।
दुई सीईओहरु (पूर्व र हालका नव नियुक्त) ले एक साथ हाँसिखुशी आ-आफ्नो कार्यकाल आदान प्रदान तथा हार्दिकता पूर्वक देखिएको सदासयता बैंकका भीडीयोहरु बैंकका केही कर्मचारीहरुले आफ्नो सामाजिक संजालमा समेत राखेका छन् ।