

के हो एनपीएल ? जान्नुस् कुन बैंकको एनपीएलको अवस्था कस्तो छ ?




काठमाडौं । बैंकको एनपीएल भनेको नन-पर्फर्मिङ लोन हो। यो त्यस्तो ऋण हो जुन ९० दिनभन्दा बढी समयसम्म भुक्तानी नभएको हुन्छ। यसलाई खराब ऋण पनि भनिन्छ। एनपीएलले बैंकको वित्तीय अवस्थालाई कमजोर बनाउँछ र नाफामा कमी ल्याउँछ। नेपाल राष्ट्र बैंकले एनपीएललाई बैंकको स्वास्थ्यको सूचकको रुपमा लिन्छ। एनपीएल बढ्नु भनेको बैंकले ऋण असुलीमा समस्या भोगिरहेको छ भन्ने हो।
हाल संचालनमा रहेका बैंकहरुले केही दिन अघि मात्रै आफ्नो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरे । त्यस्तो विवरणको आँकडा अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ९ वटाको एनपीएल ५ प्रतिशतभन्दा माथि रहेको देखिएको हो। तेस्रो त्रैमासिकसम्मको विवरणअनुसार १८ वटा बैंकको एनपीएल बढेको छ भने २ वटा बैंकले एनपीएल घटाउन सफल भएका हुन्।
यता, चालु आर्थिक वर्षका चैत मसान्तसम्मको अवधिमा स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैंकको मात्रै एनपिएल घटेको बेलामा अन्य बैंकहरुको एनपीएल यो अवधिसम्ममा आइपुग्दा बढेको देखिन्छ।
त्यसै गरी पाँच प्रतिशतभन्दा धेरै एनपीएल हुने बैंकमा हिमालय बैंक, कुमारी बैंक,नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज बैंक, एनआईसी एसिया बैंक, सिटिजन्स बैंक, प्राइमक कमर्सियल बैंक, नेपाल बैंक र प्रभु बैंक छन् । समीक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ७.६८ प्रतिशत पुगेको हो ।
साथै, गत आवको समिक्षा अवधिमा बैंकको यस्तो खराब कर्जा ४.९६ प्रतिशत रहेको थियो भने त्यस्तै धेरै खराब कर्जा हुने बैंकको दोस्रो नम्बरमा कुमारी बैंक रहेको छ । यो बैंकको एनपीएल ६.९८ प्रतिशत रहेको छ । यो बैंकको यस्तो कर्जा गत आर्थिक वर्षको सोही अवधिसम्ममा भने ४.९५ प्रतिशत रहेको थियो ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खरब कर्जा ६.०६ प्रतिशत पुगेको छ । यो बैंकको यस्तो कर्जा गत आवको सोही अवधिमा ४.६६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा ६ प्रतिशत भन्दा माथि खराब कर्जा हुने बैंकहरुमा यी तीनवटा बैंक रहेका छन् ।
चालु आवको चैत मसान्तसम्मको अवधिमा लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.८६ प्रतिशत पुगेको छ । त्यस्तै सिटिजन्स बैंकको ५.७१ प्रतिशत, प्राइम बैंकको ५.६५ प्रतिशत, नेपाल बैंकको ५.४५ प्रतिशत र प्रभु बैंकको ५.०९ प्रतिशत रहेको छ।
त्यस्तै, सबैभन्दा कम एभरेष्ट बैंकको एनपिएल ०.६४ प्रतिशत रहेको छ । यो बैंकको यस्तो कर्जा गत आवको सोही अवधिसम्ममा ०.७० प्रतिशत रहेको थियो । त्यस्तै यो चालु आवको ९ महिनाको अवधिमा एनपीएल घटाउन सफल रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंक हो । यो बैंकको खराब कर्जा १.४४ प्रतिशत रहेको छ । गत वर्ष यो बैंकको एनपीएल २.१४ प्रतिशत रहेको थियो ।
त्यस्तै चालु आवको ९ महिनाको अवधिसम्ममा ग्लोबल आइएमई बैंकको एनपिएल ४.९८ प्रतिशत, नबिल बैंकको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.६९ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५९ प्रतिशत, एनएमबी बैंकको ४.४७ प्रतिशत, नेपाल एसबीआई बैंकको ४.०६ प्रतिशत, सिद्धार्थ बैंकको ४.०४ प्रतिशत र सानिमा बैंकको ३.४२ प्रतिशत रहेको छ ।
साथै, पछिल्लो समय बैंकहरुलाई ऋण असुलीमा समस्या भएका कारण खराब कर्जा बढ्दै गइरहेको छ । बैंकहरुलाई ऋण असुली पनि समस्याको विषय बन्दै गइरहेको छ । बैंकहरुले धितो लिलाम गर्दा पनि बिक्री नभएर बैंकहरुको गैर बैंकिङ सम्पत्ति पनि बढी रहेको तथ्यांकमा देखिएको हो।