

बीमा कम्पनीका सीईओ/डीसीईओको तलबमा ठूलो अन्तर : अधिकांश डीसीईओलाई सीईओ बन्ने रहर




काठमाडौं । बीमा कम्पनीमा कार्यरत प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब सुविधा हेर्दै स्वयम् (डीसीईओ) उप–प्रमुख कार्यकारी अधिकृतहरु लोभिन सुरु गरेका छन् । उनीहरुले डीसीईओलाई जम्मा डेढ लाख रुपैयाँ दिएर फकाउने कम्पनीहरुले सीईओलाई कम्त्तीमा पनि पाँच लाख रुपैयाँ दिने गरेको सुनाएका हुन् ।
नेपालको एक ठूलो बीमा कम्पनीका डीसीईओले बीमा दर्पण डटकमसँग भने,‘मेरो तलब नराम्रो छैन । राम्रै छ । तर, तपाईहरुले त समग्र बीमा उद्योगको तथ्यांक आँकल गर्नु पर्छ । अहिले मर्जरमा गएका केही बीमा कम्पनीका डीसीईओले सीईओ बराबर सुविधा लिएको हामीले देखेका छौं । कतिपय कम्पनीमा भने डेढ लाख रुपैयाँ छुन पनि मुस्किल छ । यसको मतलब हामीले सबैको तलब एउटै हुन्छ वा सबैको कार्य क्षमता एउटै हुन्छ भनेर पक्कै भन्न खोजेको होइन । तर कुरा के हो भने नेपाल बीमा प्राधिकरणले सीईओको लागि एउटा स्ट्याण्डर्ड रेट तोक्न सक्छ भने डीसीईओका लागि पनि त मापदण्ड चाहियो नि भन्ने कुरा हो ।’
ती डीसीईओले भने,‘अब बीमा उद्योगले यहाँका डीसीईओलाई भोलि सीईओ बनाउँछौं भन्ने किसिमको आवधारणा ल्याओस्, त्यही किसिमको बाताबरण देओस् । डीसीईओलाई काम गर्न मोटिभेसन हुने किसिमले काम गरोस् । आफ्नो कम्पनीमा एक लाख २० हजार रुपैयाँ खाएको व्यक्तीले अर्को कम्पनीमा पाँच लाख छेउछाउ खाने डीसीईओ भेट्दा तपाईहरु आफै सम्झिनुस त एउटा डीसीईओको छेउमा उभिएका अर्का डीसीईओको हैसियत । हो, प्राधिकरणले यस्तो भिन्नता देखिने किसिमले धमाधम नियुक्ती दिने भन्दा पनि सबै डीसीईओ दुई लाख माथिका हुने वा चार लाख रुपैयाँ भन्दा बढी तलब खाने बनाउँने भन्ने त्यस्तो केही सामान्य गृहकार्य त गर्न सक्ला नि ।’
तालिमको अभाव
ती डीसीईओले बीमा क्षेत्रमा कार्यरत डीसीईओहरुलाई आवश्यक तालिमको अभाव रहेको पनि सुनाए । उनले कुनै पनि पदका व्यक्तीले आफूलाई थप विकास गर्न विभिन्न तालिम लिनु पर्ने भन्दै उच्च नेत्तृत्वले विदेशी तालिम लिने भन्दा पनि स्वदेशमै बीमाका सामान्य कुरा सिकाउँन रुमलिनु परेको गुनासो गरे ।
डीसीईओ तगडा बनाए, भोलि सीईओको अभाव नहुने
नेपाली बीमा क्षेत्रको जम्मा एक दशकको इतिहासलाई मात्रै केलाएर हेर्ने हो भने सीईओहरुको रोजगारीमा अनेकौ फेरबदलहरु भएको पाइन्छ । कहिले सीईओहरु अभाव भएर वर्षौसम्म कम्पनीहरु नेत्तृत्व बिहीन अवस्थामा गुज्रिन पुगे भने कहिले प्राधिकरणले कुनै पनि बीमकले ९० दिनभन्दा बढी सीईओ पद खाली नराख्नु भन्ने निर्देशन समेत दिन बाध्य भयो । त्यस्तै, कहिले बीमा क्षेत्र मर्जरमय बन्दै गर्दा कतिपय सीईओहरु अकारण बेरोजगार हुनुपर्ने अवस्था सिर्जना भयो भने कतिपय बीमा क्षेत्रबाट बाहिरीएका सीईओहरु
समेत अकस्मात यो क्षेत्रमा तानिन पुगे ।
त्यसरी नै खाईपाई आएको सुविधा नघट्ने गरी कुनै पनि सीईओको तलब कम्तीमा पनि पाँच लाख रुपैयाँ भन्दा कम हुने व्यवस्था भएको पनि धेरै भएको छैन । यसरी हेर्दा बल्लबल्ल सीईओहरुको गुनासो आउँन कमी भएर उनीहरुको सेवा सुविधाको टुंगो लाग्न नपाउँदै फेरी बीमा कम्पनीका डीसीईओहरुले नै गुनासो गर्न सुरु गरेका हुन् ।
केही डीसीईओहरुले कार्य क्षमता मूल्यांकनको गुरु योजना तय हुनुपर्ने माग गरेका छन् । कसैले उच्च तलब सुविधा भएमा बीमा क्षेत्रमा नयाँ यूवाहरुलाई समेत प्रवेश गर्न प्रोत्साहन मिल्ने र अन्य क्षेत्रभन्दा बीमा क्षेत्र धेरैको रोजाईमा पर्ने बताएका छन् । कुनै डीसीईओहरुले आफूहरु सीईओ काम विशेषले कतै जाँदा कम्पनीको अधिकांश कुराहरुको कमाण्ड सम्हाल्दै आएकाले सीईओकै हैसियत भन्दा कम नभएको अनुभव समेत साटेका छन् ।
अहिले बीमा क्षेत्रमा अर्को रोचक कुरा भनेको मर्जर अघि सीईओ नै बनिसकेका डीसीईओहरु हालको (बरिष्ठ डीसीईओ) हरुको संख्यात्मक वृद्धि रहेकाले उनीहरुले कतिपय अवस्थामा आफूलाई जहाजको एक्ट्रा पाईलट जस्तो सीईओ बराबर वा सीईओ हाराहारीकै व्यक्तीको रुपमा आफूलाई मान्दै आएका छन् ।
यसरी बीमा क्षेत्रमा सीईओ बन्न खुट्टा उचालेका डीसीईओहरुको संख्या बढ्दै गर्दा एकातर्फ बर्तमान सीईओहरुलाई आफ्नो वार्षिक योजनालाई सफल माथि सफल बनाउँदै लानुको विकल्प छैन भने अर्कातर्फ डीसीईओहरुले समेत धेरै तलबमा सिधैँ आँखा लगाउने भन्दा पनि पदिय मर्यादाको कदर गर्दै सीईओ बराबरको कार्य क्षमता विकासतर्फ पनि सोच्नु पर्ने देखिन्छ ।
पछिल्लो समय केही कम्पनीहरुले अर्का कम्पनीमा काम गरेका डीसीईओहरुलाई समेत सिधैँ सीईओको अफर गर्न थालेको र पाँच पटकसम्म बोलाउन थालेसँगै डीसीईओहरुले आफूलाई सीईओको दाँजोमा राख्न सुरु गरेको खुलेको हो । यद्यपी कुनै पनि कर्मचारी वा डीसीईओको यात्रा (टप लेभल) उच्च तह÷ नेत्तृत्व तहको सीईओ बन्छु भन्नु उदेश्य बन्छु भन्नु विभिन्न दृष्टिकोणबाट सकारात्मक नै देखिन्छ । यसमा नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीमै काम गरेका कर्मचारी, डीसीईओ, अनुभवीहरुको धारणा अनुसार नयाँ नीति बनाउँन सके कतिपय अवस्थामा सीईओ खोज्नका लागि बैंकिङ क्षेत्रका व्यक्तीलाई (वेट एण्ड सी) पर्ख र हेर वा हारगुहार गर्नु पर्ने अवस्थाको सधैँका लागि अन्त्य हुने देखिन्छ ।