

व्यापार घाटा ९ खर्ब ८७ अर्ब कायम हुँदा, यता निर्यातमा भने सुधार




काठमाडौं । पछिल्लो समय नेपालबाट हुने वस्तु निर्यातमा उल्लेख्य सुधार देखिएको छ। तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५७.२ प्रतिशतले बढेको बेलामा १ खर्ब ५८ अर्ब १७ करोड पुगेको र त्यस्तो तथ्यांक अघिल्लो वर्षको समिक्षा अवधिमा ४.० प्रतिशतले कमी आएको अवस्था थियो । ठीक यही बेलामा गन्तव्यका आधारमा भने भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.५ प्रतिशत, ८८ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको देखिएको हो ।
यता, वस्तुगत आधारमा भटमासकोतेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जुश लगायतका वस्तुको निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २।७ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.९ प्रतिशत, १२.५ प्रतिशत र २०.६ प्रतिशतले वृद्धि भएको छ ।
त्यसरी नै वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामलर धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, लेख्ने तथा छाप्ने कागज, रसायनिक मल लगायतका वस्तुको आयात घटेको छ ।
साथै, सोही बेलामा समीक्षा अवधिमै हेर्ने हो भने कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ८७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.५ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको जनाइएको छ ।