

व्यावसायमा डाउनट्रेण्ड वा टार्गेटको चाँप ? निर्जीवन बीमाका मार्केटिङ स्टाफको अतिरिक्त सुविधा काटियो




काठमाडौं । बीमा क्षेत्रमा मर्जर पश्चात एकपछि अर्को तरंग फेला परिरहेको बेलामा बजारीकरणका कर्मचारी (मार्केटिङ स्टाफ) हरु अकारण शिकार भएको पाइएको छ । उनीहरुले खाईपाई आएको सुविधामा निर्जीवन बीमा कम्पनीहरुले किन धारे हात लागाए ? भन्ने विषयले बीमा क्षेत्रका कैयौं कर्मचारीहरुलाई अचम्मित मात्रै बनाएको छैन एकसाथ शसंकित समेत तुल्याएको हो ।
निर्जीवन बीमा कम्पनीमा कार्यरत एक पुराना तथा अनुभवी कर्मचारीले बीमा दर्पण डटकमसँग भने,‘बीमा क्षेत्रमा काम गरेको यतिका वर्ष भयो अब नयाँ–नयाँ घटना देख्न थालेका छौं । अहिले हुँदा–हुँदा केही निर्जीवन बीमा कम्पनीहरुले आफ्ना मार्केटिङ स्टाफको समेत तलब काट्नु भएछ । सामान्य रुपमा सबैले बुझेको कुरा कर्मचारीहरुलाई जति धेरै प्रोत्साहन र सुविधा दियो त्यति धेरै उनीहरुले काम गर्ने बातावरण निर्माण हुनछ । यो कुरा मार्केटिङ स्टाफको हकमा त शतप्रतिशत मेल खान्छ । कम्पनीले मोवाइलको रिचार्ज र पेट्रोल खर्च अधिकांश कार्यालयले आफ्ना बजारीकरण कर्मचारीहरुलाई दिन्छन्, उनीहरुको काम पनि फोनमा बोल्ने र डुल्ने नै बढी हुन्छ । अब अहिले केही कम्पनीहरुले गत साता मात्रै त्यस्तो सुविधा कटौती गरे । त्यसले गर्दा अब कर्मचारीरुले थोरै फोन गर्ने र थोरै डुल्ने अवस्था स्वत देखिन्छ, त्यो स्वभाविक पनि हो । तर, यसमा त्यति धेरै दुख गर्ने कर्मचारीहरुले पाएको त्यति सानो सुविधा किन खोसीयो भन्ने विषय चाही यहाँहरुलाई खोजीको विषय पनि हुनसक्छ ।’
ती कर्मचारीले सामाजिक सुरक्षा योजना (एसएसएफ), कर्मचारी संचय कोष, उपदान, प्रोत्साहन भत्ताका आफ्नै सुन्दर पक्ष रहेको बताए । उनले तै पनि साना कर्मचारीहरु मात्रै कटौती र कामको दबाबको चपेटामा पर्ने पुरातनवादी शैलीले बीमा क्षेत्रमा फ्रन्ट लाइनमा बस्ने कर्मचारीलाई पैसा मात्र नभई भरोसाको समेत खाँचो रहेको औँल्याए ।
उनले बीमा कम्पनीमा उच्च पदमा रहेकाहरुले ठूला ठूला सुविधा पाउँने र दैनिक अनेकौ भत्ता लगेको बेलामा बजारीकरण जस्तो आवश्यकीय ठाउँमा प्रवेश गर्ने नयाँ यूवाहरुको मनोबलमा समेत धक्का लाग्ने गरेर ठूला निर्जीवन बीमा कम्पनीले अति न्यून शुल्क कटौती गर्ने कुरामा नियामक निकायले समेत निगरानी राख्नु पर्ने बताए । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले मर्जरपछि कुनै पनि कर्मचारीहरुको खाईपाई आएको सुविधा नघट्ने भन्दै आएको बेलामा मार्केटिङ स्टाफको हकमा भने यो लागू नभएको देखिएको हो ।
स्रोतले बीमा दर्पण डटकमसँग भन्यो,‘तपाईहरु त समाचार लेख्नुस् न । आज बिहान मात्रै हाम्रा एक जना मित्रले कल गरेर रिचार्ज कार्ड र पेट्रोलको खर्च बीमा कम्पनीले कटौती गर्यो भन्ने खबर गरेका हुन् । बीमाको ग्रसमा रहेको सुविधालाई वेसिकमा लगियो भन्ने उहाँहरुले गुनासो गर्नु भएको र यो वास्तवमा दुखद कुरा हो ।’
एक त केही निर्जीवन बीमा कम्पनीहरुको व्यावसाय खस्किदो अवस्थामा छ भने अर्को भनेको उनीहरुलाई बजारमा (हाईगेस्ट फिगर) उच्च तथ्यांक देखाउँनु पर्ने होडबाजी पनि कायमै छ । तर, मार्केटिङ स्टाफकै दुई चार पैसा कटौती गर्नु पर्ने अवस्थामा केही निर्जीवन बीमा कम्पनी किन पुगे ? भन्ने पछाडी केही गहिरो कारण हुनसक्ने सरोकारवालाहरुको आँकलन छ ।