
मौसम अपडेट : केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। सोही महाशाखाले लुम्बिनी, कर्णाली प्रदेश र सु-दूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा अन्य बाँकी रहेका भू–भागको मौसम भने सफा रहने जनाएको हो।
यता, सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको देखिएको छ। ठीक यही बेला महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन सुझाव दिएको छ।


