

कुलमानको रिट सर्वोच्चमा दर्ता, शुक्रबार सुनुवाइ हुने




काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै पेश गरेको रिट निवेदन सर्वोच्च अदालतमा बिहीबार दर्ता भएको छ ।
आफूलाई बदनियतपूर्वक स्पष्टीकरण सोधी गलत तरिकाले पदमुक्त गर्ने सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।
उनको रिट निवेदनमाथि शुक्रबारदेखि प्रारम्भिक सुनुवाइ हुनेछ ।
घिसिङलाई २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि प्राधिकरणको नेतृत्वमा पुनः नियुक्त गरिएको थियो। उनको कार्यकाल २०८२ साउन २५ सम्म रहने व्यवस्था भए पनि मन्त्रिपरिषद्ले चार महिना अगाडि नै उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।
सर्वोच्च अदालत प्रशासनले घिसिङको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि शुक्रबार मिति तोकेको छ।