

७५ अंकले सेयर बजार बढ्दा १४ अर्बभन्दा धेरै कारोबार




काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । सेयर कारोबार हुने साताको पहिलो दिनको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ७५ दशमलव २४ अंकले बढेको देखिएको हो ।
यता, आजको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक २८९० दशमलव २८ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा २।६७ प्रतिशतले बढी हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
साथै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३।०८ प्रतिशत अर्थात् १४ दशमलव ४७ अंकले बढेर ४८४ दशमलव ३० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ उपसूचको सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ ।
परिसूचक सँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । गत बिहीबार ११ अर्बभन्दा केही बढीको कारोबार भएको बजारमा आज १४ अर्बभन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३०२ कम्पनीका २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर १ लाख ३९ हजार ५९६ पटक खरिद बिक्री हुँदा १४ अर्ब २५ करोड ४ लाख ७५ हजार ७३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आईतबार सेयर कारोबार बन्द हुँदा सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको देखिएको हो ।