

निर्जीवन बीमा कम्पनीहरुको व्यावसाय सन्तोषजनक, माघ मसान्तसम्ममा २४ अर्ब आर्जन




काठमाडौं । हाल संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीको व्यावसायीक अवस्था सार्वजनिक गरिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको सो तथ्यांक अनुसार उनीहरुको व्यावसाय २४ अर्बभन्दा माथि पुगेको हो । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको विवतरणअनुसार निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ व्यवसाय गर्दा त्यसलाई सन्तोषजनक समेत मानिएको छ।
हाल प्रकाशित तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही समिक्षा अवधि भन्दा ७.८० प्रतिशतले व्यावसाय बढेको देखिन्छ । उनीहरुले गत आर्थिक वर्षको माघ मसान्तसम्ममा २२ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ व्यावसाय गरेका थिए । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स अग्रस्थानमा देखिन्छ।
शिखरपछि पहिलो त्रैमासमा अग्रस्थानमा रहेको नेपाल इन्स्योरेन्सले पनि पछ्याइरहेका अवस्था छ । गत वर्षको तुलनामा नेपाल इन्स्योरेन्स र द ओरियण्टल इन्स्योरेन्सको बीमा ब्यवसाय वृद्धिमा अघि देखिएका छन् । यस अवधिमा शिखर इन्स्योरेन्सको व्यवसयाय ३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको भन्दा ८.१६ प्रतिशतले धेरै हो भने गत आवको समीक्षा अवधिमा कम्पनीको यस्तो व्यवसाय २ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।
साथै, समिक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्यारेन्सको बीमा व्यवसाय २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । यो कम्पनीको गत आवको सोही अवधिमा २ अर्ब ६७ करोड २१ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।
यता चालु आर्थिकवर्षको माघ मसान्तसम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको व्यवसाय २ अर्ब २ करोड ६८ लाख रुपैयाँ पुगेको बेलामा नेको इन्स्योरेन्सको १ अर्ब ९५ करोड २ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १ अर्ब ९२ करोड १८ लाख रुपैयाँ र एनएलजि इन्स्योरेन्सको व्यवसाय १ अर्ब ६२ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
त्यसरी नै माघ महिनासम्मको विवरणअनुसार द ओरियन्ट इन्स्योरेन्सको व्यवसाय १ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ युनाइटेड अजोड इन्स्योरेन्सको १ अर्ब ४० करोड १४ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सको १ अर्ब ३८ करोड ५२ लाख, नेपाल इन्स्योरेन्सको १ अर्ब २५ करोड ९५ लाख, प्रभु इन्स्योरेन्सको १ अर्ब ३ करोड ८ लाख, राष्ट्रिय बीमा कम्पनी ९४ करोड ५ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सको ६९ करोड ३४ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ।