
अर्थमन्त्री पौडेल डिस्चार्ज भए पनि मेयर आचार्यलाई केही दिन अस्पताल राखिने



काठमाडौं । एक कार्यक्रम (पोखरा भ्रमण वर्ष) को शुभारम्भ गर्न पोखरा पुगेका अर्थमन्त्री विष्णु पौडेल बेलुन आगलागीमा घाइते भए । उनलाई उपचारको क्रममा किर्तीपूर वर्न अस्पताल ल्याइएको र हाल उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
अस्पताल स्रोतका अनुसार दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएको हो भने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने भएको छ।
‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ’, कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ ।’
सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्न बन्द गरिएको पनि अस्पतालले जनाएको छ । शुभ चिन्तक तथा भीआईपीहरुले अस्पताल एरियामै बस्न रुचाएसँगै भेटघाट पातलो गर्न अस्पतालले सुझाव दिँदै आएको अवस्था छ ।


