
सरकारका कामको निगरानी र सहजीकरणमा सक्रिय हुन पार्टी कार्यकर्तालाई मन्त्री श्रेष्ठको आग्रह
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सरकारका नीति, कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयनका लागि पार्टीका नेता तथा कार्यकर्ताले निगरानी, विश्लेषण र सहजीकरणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । ‘जनताका कुरा सुन्ने’ अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीमा आयोजित पार्टीका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा उनले सरकारका कामको सूक्ष्म अध्ययन गरी कार्यान्वयनमा देखिएका समस्या पहिचान गर्न र समाधानका लागि सहकार्य गर्न पार्टी पङ्क्तिलाई आग्रह गरे।
सरकार गठन भएको करिब आठ महिनाको अवधिमा भएका कामको समीक्षा गर्दै जनअपेक्षाअनुसार काम भए नभएको मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो । जिल्ला तथा स्थानीय तहका पार्टी नेतृत्वले जनताका गुनासा र अपेक्षा सरकारसम्म पुर्याउने तथा सरकारले गरेका काम जनतामाझ लैजाने सेतुका रूपमा काम गर्नुपर्ने उनले बताए ।
विगत लामो समयदेखि थुप्रिएका समस्याको पहिचान र विश्लेषण गर्ने काम सरकारले गरिसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले अब अल्झिएका विषयको गाँठो फुकाउँदै नतिजामुखी काममा केन्द्रित हुनुपर्ने धारणा राखे।
ऊर्जा मन्त्रालयका गतिविधिबारे जानकारी दिँदै उहाँले विद्युतमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी विषयलाई सहजीकरण गर्न आफूले पहल गरिरहेको बताए । सम्भवतः आर्थिक ऐन संशोधनका क्रममा यस विषयको सम्बोधन हुने अपेक्षा रहेको उनले उल्लेख गरे ।
स्थानीय तहमा ऊर्जाको दिगो उपयोग र उत्पादन विस्तारका लागि ‘ऊर्जामा आत्मनिर्भर पालिका’, एलपी ग्यासमुक्त पालिका तथा फोहोरबाट ऊर्जा उत्पादन गर्ने लगायत कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय सरकारसँग समन्वय गरी सक्रिय हुन उहाँले आग्रह गरे।
मन्त्रालयले अधिकार र बजेट विकेन्द्रीकरणको नीति अवलम्बन गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सम्बन्धित प्रदेश तथा कार्यालयसँग समन्वय गरी आफ्नो क्षेत्रमा सञ्चालित आयोजनाको प्रगति र निर्माण गुणस्तरको नियमित अनुगमन गर्न पनि आग्रह गरे।
व्यक्ति केन्द्रित कार्यशैलीको सट्टा विधि र प्रणालीमा आधारित शासन व्यवस्था स्थापित गर्ने प्रयास भइरहेको बताउँदै उनले बजेट कार्यान्वयनसँगै विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिए ।
कास्कीमा फेवा, रुपालगायतका तालको संरक्षणका लागि प्रदेश सरकारसँग सहकार्य अघि बढाइएको उनले बताए ।
अन्तरक्रियामा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले सरकारका कामको अवस्था, जनताका गुनासा र अपेक्षा तथा विकास निर्माण र सुशासनसँग सम्बन्धित विषयमा मन्त्री श्रेष्ठसमक्ष आफ्ना धारणा र सुझाव राखेका थिए ।


