
नेष्डो समृद्ध लघुवित्तको साधारणसभा आह्वान
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बठले आगामी पुस ३ गतेका लागि ८ औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।
सभा पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा बिहान ११ः३० बजेदेखि सुरु हुने छ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरिनेछ ।
सभामा लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि पेस हुनेछ । साथै सञ्चालक समितिका सदस्यहरूको नियुक्ति अनुमोदन गर्ने र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची रहेको छ । त्यसैगरी संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभामा पेस हुनेछ । प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन आएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत रहेको छ ।
सभाले अन्य इजाजतपत्र प्राप्त एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा प्राप्ति गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गर्नेछ । यसअन्तर्गत समझदारीपत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने र मर्जर तथा प्राप्तिसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउने विषय समेटिएको छ ।
संस्थाले साधारण सभा प्रयोजनका लागि मंसिर १८ गते सेयर दाखिला खारेज किताब बन्द गर्ने जनाएको छ । त्यसअनुसार मंसिर १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई तोकिएको समयभित्र सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेडमा सेयर नामसारी गराएका सेयरधनीहरू मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।


