
प्रधानमन्त्रीको भ्रमणका उलपब्धिबारे प्रधानमन्त्रीले जानकारी गराउनुपर्छ : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भएका सम्झौता, समझदारी र उपलब्धिहरू आधिकारिक रूपमा सार्वजनिक गर्न माग गरेको छ । बुधबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस महामन्त्री प्रदीप पौडेलले यस्तो माग गरेका हुन् । उनले प्रधानमन्त्री शाहको भारत भ्रमण नेपाली जनताको अपेक्षाअनुसार उपलब्धीमूलक हुन नसकेको पनि बताए ।
‘प्रधानमन्त्रीको भारत भ्रमणबाट के अपेक्षा गरिएको थियो भने लामो समयसम्म छलफलकै क्रममा रहेका र नटुंगिएका विषयहरू टुंगोमा पुग्नेगरी छलफल हुनेछन् र विवादित विषयहरूमा नेपालको दृष्टिकोण प्रधानमन्त्रीज्यूले स्पष्टसँग राख्नुहुनेछ भन्ने आम नेपालीको विश्वास थियो । सबैभन्दा पहिलो कुरा यसमा विश्वासघात भयो । कुनैपनि पुराना वा नयाँ कुरामा स्पष्टसँग धारणा राखेको देखिएन,’ उनले भने ।
उनले दुई देशबीच लामो समयदेखि छलफलकै क्रममा रहेका तथा नटुंगिएका विषयहरू टुंगिनेमा नेपाली जनताको विश्वास रहेको भएपनि त्यसअनुसार दृष्टिकोण राख्न प्रधानमन्त्री सफल भएको नदेखिएको बताए ।
भारतले नेपाललाई सहयोग गर्ने भनि घोषणा गरिएको रकम ऋण हो वा अनुदान भन्ने कुरा समेत सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले प्रधानमन्त्री साहको भारत भ्रमण निजी नभई मुलुकको प्रतिनिधित्व गर्ने भ्रमण भएकाले त्यसका उपलब्धि र समझदारीबारे जनतालाई जानकारी गराउनु सरकारको दायित्व भएको दोहोर्याए ।
‘प्रधानमन्त्रीज्यूले भारतमा गएर के के गर्नुभएको हो ? को कोसँग भेट्नुभएको हो ? के के छलफल भयो ? के के सम्झौता भए ? के के प्रक्रियामा अघि बढेको हो ? सहयोगको घोषणा भएको कुरा ऋण हो कि अनुदान हो ? यी सबै कुराहरू प्रधानमन्त्रीज्यूले नेपाली जनतालाई आधिकारिक रुपमा नेपाली जनतालाई भन्नुपर्यो,’ उनले भने ।


