
हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न अपर स्याङ्गे हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २ गतेका लागि १० औँ वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीले आफ्नो चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नका लागि साधारणसभा बोलाएको हो । सभा काठमाडौंको चप्पल कारखाना चोकस्थित कुण्डलिनी दरबार बैंक्वेटमा बिहान ९ः३० बजे सुरु हुनेछ । सभामा कम्पनीको चुक्ता पूँजीको एक कित्ता सेयर बराबर अर्को एक कित्ता सेयर अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुनेछ । त्यस्तै हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकम कसरी उपयोग गर्ने भन्ने विषयमा सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै फेरबदल वा थपघट गर्न सुझाव तथा निर्देशन आएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
यसैगरी कम्पनीले ऋण स्वापसम्बन्धी गरेको निर्णय तथा सञ्चालक समितिका अन्य निर्णय अनुमोदन गर्ने, जलविद्युत् तथा सौर्य ऊर्जालगायत अन्य उपयुक्त कम्पनीमा लगानी गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा विभिन्न संस्था तथा व्यक्तिलाई दिइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने विषयसमेत सभाको कार्यसूचीमा समावेश छ ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेस हुनेछ । साथै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने विषयमा समेत छलफल हुनेछ ।
सभामा कम्पनीका प्रवद्र्धक तथा आधारभूत शेयरधनीबाट प्राप्त हुने सापटी तथा ऋण रकममा सञ्चालक समितिको निर्णयअनुसार ब्याज प्रदान गर्ने र सोसम्बन्धी आवश्यक व्यवस्था गर्ने विषयमा पनि छलफल हुनेछ। कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर १६ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । त्यसअनुसार मंसिर १५ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन पाउनेछन् ।


