
शिलान्यासको पाँच वर्षपछि कर्णाली सरकारलाई रंगशाला हस्तान्तरण
सुर्खेत । कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले २०७८ मंसिर २० गते शिलान्यास गरेको कर्णाली प्रदेश रंगशाला झण्डै पाँच वर्षपछि प्रदेश सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी रंगशाला निर्माण गरिएको हो । ३० महिनाभित्र रंगशाला निर्माणको लक्ष्य राखे पनि करिब पाँच वर्षपछि मात्रै निर्माण सम्पन्न भएको हो । २०७८ कात्तिक २७ प्रदेश सरकार र निर्माण कम्पनी एमएसी-जीएसएल जेभीबीच निर्माण सम्झौता भएको थियो ।
एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लागतमा निर्माण गर्ने गरी सम्झौता भएको कर्णाली प्रदेश रंगशाला ३० महिना भित्र निर्माणसम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सम्झौताअनुसार २०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने थियो ।
कोरोना महामारी, जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पलगायत कारण देखाउँदै निर्माण कम्पनीले निर्धारित समयमै काम सम्पन्न गर्न सकेन ।
सोमबार मुख्यमन्त्री मंगलबहादुर शाही, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही तथा प्रदेश सरकारका मन्त्री र अन्य पदाधिकारीको उपस्थितिमा निर्माण कम्पनी एमएसी–जीएसएल (जेभी) ले रंगशाला औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।
करिब नौ बिघा क्षेत्रफलमा फैलिएको रंगशालामा १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटबल मैदान र आठ लेनको सिन्थेटिक एथलेटिक्स ट्र्याक रहेको रंगशालामा फुटबल, दौड, हाइजम्प र लङजम्प लगायत प्रतियोगिता संचालन गर्न सकिन्छ।
त्यस्तै, पौडी प्रतियोगिताका लागि स्विमिङ पुल र भलिबल, बास्केटबल तथा ह्यान्डबल लगायत खेल संचालन गर्न मिल्ने बहुउद्देश्यीय कभर्डहल निर्माण गरिएको छ । खेलाडीका लागि चेन्जिङ रुम, मेडिकल तथा फिजियोथेरापी कक्ष, रेफ्री रुम, मिडिया रुम, भीआईपी प्यारापिट र भूमिगत पार्किङको व्यवस्था समेत गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले लामो मेहनत र परिश्रमपछि कर्णालीमा यति ठूलो खेल पूर्वाधार निर्माण हुन सकेको बताए। उनले रंगशालालाई आगामी दिनमा कर्णालीको खेलकुद विकास र भविष्यसँग जोडिएको महत्त्वपूर्ण संरचनाका रूपमा व्याख्या गरे ।
मुख्यमन्त्री मंगलबहादुर शाहीले भने अब यसको संचालन र व्यवस्थापन मुख्य चुनौती रहेको बताए । यति ठूलो संरचनालाई व्यवस्थित रूपमा संचालन गर्न आवश्यक मापदण्ड र कार्यविधि बनाइने उनले बताए । प्रदेश सरकार तथा प्रदेश खेलकुद विकास परिषद्मार्फत व्यवस्थापन गरिने उनको भनाइ छ।
रंगशाला हस्तान्तरणसँगै यसको संचालन, संरक्षण र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार तथा प्रदेश खेलकुद विकास परिषद्समक्ष आएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन पनि यही रंगशालामा हुने कार्यक्रम तय भएको छ ।


