
राउटे समुदायको परम्परागत सीप र संस्कृति संरक्षण गर्न सरकारसँग माग
काठमाडौँ। लोपोन्मुख राउटे समुदायको मौलिक पहिचान, परम्परागत सीप, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक व्यवस्था गर्न समुदायका प्रतिनिधिले सरकारसँग माग गरेका छन् ।
आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरी राउटे समुदायका प्रतिनिधिले आफ्नो परम्परागत जीवनशैली र सांस्कृतिक पहिचान संरक्षणका लागि राज्यको विशेष पहल आवश्यक रहेको बताएका हुन् ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिकमन्त्री सीता वादीको उपस्थितिमा भएको छलफलमा राउटे समुदायको परम्परागत काष्ठकला तथा हस्तकलाको प्रवर्द्धन, भाषा र संस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा दिगो आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने विषय उठाइएको थियो ।
छलफलमा ऊर्जामन्त्री श्रेष्ठले राउटे समुदायको मौलिक पहिचान र परम्परागत सीपको संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै यसका लागि सरकार सकारात्मक रहेको बताए।
उनले स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी समुदायको सीपलाई आयआर्जनसँग जोड्ने, भाषा तथा कलाको संरक्षण गर्ने र आवश्यक सामाजिक सुरक्षाको व्यवस्था मिलाउने दिशामा काम गर्नुपर्ने बताए।


