
नेपाललाई भारतका दुई नयाँ बन्दरगाह प्रयोगको अनुमति
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले तेस्रो मुलुकसँग आयात–निर्यात व्यापार गर्न भारतका थप दुई बन्दरगाह प्रयोग गर्न पाउने भएको छ। भारतले ओडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाह प्रयोगको अनुमति दिने भएको हो।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशका प्रतिनिधिमण्डलबीच भएको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका हुन्।
यसअघि नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि ओडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोग गर्न अनुमति माग्दै आएको थियो। यी दुई बन्दरगाह प्रयोग गर्ने विषयमा नेपाल र भारतबीच सन् २०१९ मै सहमति भएको थियो। तर यसपटक भने नेपालले माग गरेका बन्दरगाहको सट्टा सोही राज्यका अन्य दुई बन्दरगाह प्रयोग गर्न पाउने सहमति भएको हो।
धाम्रा र मुन्द्रा बन्दरगाहको व्यवस्थापन निजी क्षेत्रको अडानी समूहले गर्दै आएको छ। तर नेपालले प्रयोगको अनुमति पाएका पारादीप र कान्डला बन्दरगाह भने भारत सरकारको सञ्चालनमा रहेका छन्।
हाल नेपालले भारतका कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ। पश्चिम बंगालका कोलकाता र हल्दिया बन्दरगाहलाई नेपालले एउटै व्यापारिक मार्गका रूपमा लिने गरेको छ। कोलकातामा साना जहाज आउने र हल्दियामा ठूला जहाज आउने भएकाले दुवै बन्दरगाह एकअर्काका पूरकका रूपमा प्रयोग हुँदै आएका छन्।
त्यस्तै, आन्ध्र प्रदेशस्थित विशाखापट्टनम बन्दरगाहबाट पनि नेपालले तेस्रो मुलुकसँग व्यापार गर्दै आएको छ।
नेपालले लामो समयदेखि यी तीन बन्दरगाहबाहेक अन्य विकल्पसमेत उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको थियो। थप दुई बन्दरगाहको पहुँच प्राप्त भएसँगै नेपालको वैदेशिक व्यापारका लागि समुद्री मार्गको विकल्प विस्तार हुने र आयात–निर्यातमा सहजता आउने अपेक्षा गरिएको छ।


