
मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
काठमाडौं । नेपालको पहिलो केबलकारका रूपमा सञ्चालित मनकामना केबलकारले २८ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ ।
चितवन को-इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले मंसिर ८ गते २८ वर्ष पूरा गरेको हो । कम्पनीका अनुसार हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुले केबलकारमार्फत सेवा लिइसकेका छन् ।
समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको मनकामना केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले स्वर्गीय संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको दूरदृष्टि र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीले केबलकारको सफल यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदारप्रति आभार व्यक्त गरेको छ । साथै, सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिएको छ ।
आगामी दिनमा यात्रुहरूलाई अझ उत्कृष्ट सेवा र स्तरीय अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।


