
अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलायो : एमाले महासचिव
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलाइरहेको बताएका छन् । काठमाडौंको टोखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले मौलिक संस्कृति र परम्परामाथि चुनौती थपिएको बताएका हुन् ।
उनले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगले समाजका मौलिक संस्कृति, परम्परा र मूल्य–मान्यतामाथि नकारात्मक प्रभाव पारिरहेको बताए । सूचना प्रविधिको विकासलाई आत्मसात् गर्दै त्यसबाट सिर्जना हुने विकृति नियन्त्रण गर्नुपर्नेमा पोखरेलले जोड दिए ।
पपुलिस्ट, अराजकतावादी र अवसरवादी प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने अवस्था सिर्जना भएको पनि उनले बताए ।
अर्को प्रसंगमा उनले अहिलेको सरकारले महँगी नियन्त्रण र जनताको जीवनस्तर सुधार गर्न नसकेको आरोप लगाए । सरकारको मुख्य दायित्व जनताको सुख, सुविधा र समृद्धि सुनिश्चित गर्नु भए पनि त्यसअनुसार काम हुन नसकेको उनले टिप्पणी गरे ।


