
भीमफेदी दुर्घटना अपडेट : मृतक दुई र घाइते सात जनाको पहिचान खुल्यो
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैंसे नजिकै त्रिभुवन राजपथमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिना रहेका छन् । चन्द्रनिगाहपुरबाट जिप चढेकी मृतक महिलाको भने पहिचान खुलेको छैन ।
डीएसपी थापाका अनुसार दुर्घटनामा परी रौतहट चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन्।
आज बिहान करिब ८:५५ बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो गाडी सडकबाट करिब २०/२५ मिटर तल खोलामा खसेर दुर्घटना भएको थियो ।
घाइतेहरूलाई स्थानीय बासिन्दा तथा प्रहरी चौकी भैँसेको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।


