
चीन पुगे ट्रम्प, अमेरिका-चीन प्रतिस्पर्धामा ठोस उपलब्धिको अपेक्षा न्यून
काठमाडौं । अमेरिका र चीनबीच एक वर्षभन्दा लामो समयदेखि प्रविधि तथा आर्थिक प्रतिस्पर्धामा तनावपूर्ण शान्ति कायम छ । यही अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीनको सेन्जेन पुगेका छन् । तर चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ताबाट कुनै ठूलो उपलब्धि हासिल हुने अपेक्षा कम छ ।
गत वर्ष अमेरिका–चीन व्यापार युद्धलाई केही समयका लागि थाती राखेपछि ट्रम्प र सीबीच हुन लागेको यो तेस्रो भेट हो ।
सेन्जेन विमानस्थलमा सी आफैँले ट्रम्पलाई स्वागत गरेका थिए । चिनियाँ राष्ट्रपतिले विदेशी पाहुनालाई विमानस्थलमै पुगेर स्वागत गर्ने अभ्यास विरलै हुने गर्छ ।
भव्य स्वागतका बाबजुद विश्लेषकहरूले बिहीबार एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा हुने दुई नेताबीचको भेटबाट ठोस सम्झौता हुने सम्भावना कम रहेको बताएका छन् ।
बरु वासिङ्टन र बेइजिङबीचको सम्बन्धलाई स्थिर बनाउने विषयमा दुवै नेताको ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ । विशेषगरी अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत जेनसेन हुआङ चीनको जासुसी गतिविधिसँग जोडिएको आरोपको विवादले दुई देशबीचको तनाव फेरि सतहमा ल्याएको छ ।
ब्रुकिङ्स इन्स्टिच्युसनअन्तर्गत जोन एल थोरन्टन चाइना सेन्टरका निर्देशक रायन हासका अनुसार अमेरिका र चीनबीचको सम्बन्ध आफ्नो नियन्त्रणमा रहेको सन्देश दिनु दुवै नेताका लागि फाइदाजनक छ ।
उनले अलजजिरासँग भने ‘आगामी दिनमा पनि यो अवस्था परिवर्तन हुने अपेक्षा गरेको छैन ।’
यद्यपि, सन् २०२६ मा जस्तो आगामी वर्ष दुवै नेताबीच प्रत्यक्ष कूटनीतिक भेटघाटका अवसर धेरै नहुने भएकाले सम्बन्धलाई नियन्त्रणमा राख्ने उनीहरूको क्षमतामा चुनौती आउन सक्ने हासको भनाइ छ।
एनभिडिया विवादले बढाएको तनाव
चीन भ्रमणअघि ट्रम्पले एनभिडियासँग जोडिएको विवादलाई कम महत्त्व दिने प्रयास गरेका छन् । एनभिडियाका पूर्वप्रमुख जेन्सेन हुआङ र चिनियाँ जासुस भएको आरोप लागेका मेगास्पिड कम्पनीका एक कार्यकारीबीचको सम्बन्धलाई लिएर विवाद उत्पन्न भएको हो ।
यस घटनाले एआई सम्बन्धी चिपमा चीनको पहुँचबारे ट्रम्प प्रशासनभित्रै रहेको मतभेदलाई पनि उजागर गरेको छ ।
सिंगापुरमा मुख्यालय रहेको डेटा सेन्टर कम्पनी मेगास्पिडले अमेरिकी निर्यात नियन्त्रण नियम उल्लंघन गर्दै एनभिडियाका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) चीन पठाएको आशंका गरिएको छ ।
सोमबार अमेरिकी अभियोजनकर्ताहरूले मेगास्पिडमाथि आपराधिक अनुसन्धान सुरु भएको पुष्टि गरेका थिए । यसअघि अमेरिकी वाणिज्य मन्त्रालयले उक्त कम्पनीलाई निर्यात नियन्त्रण सूचीमा नराखेको विषयमा पनि विवाद भएको थियो ।
ट्रम्पले सोमबार पत्रकारहरूसँग भनेका थिए, ‘हामी चीन जाँदै छौँ । त्यहाँ पुग्नुअघि चीनलाई अपमानित गर्नुपर्छ भन्ने मलाई लाग्दैन ।’
एपेक सम्मेलनमा ट्रम्पले सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको त्रिपक्षीय बैठकमा पनि सहभागी हुने कार्यक्रम छ ।
चीनले भने जासुसीसम्बन्धी आरोप अस्वीकार गर्दै त्यसलाई ‘पूर्णतः निराधार’ र चीनको छवि बिगार्ने उद्देश्यले लगाइएको आरोप भनेको छ ।
हार्वर्ड केनेडी स्कुलमा अमेरिका–एसिया सम्बन्धका प्राध्यापक राना मिटरले सार्वजनिक रूपमा हुने छलफलमा एनभिडिया विवादले खासै स्थान नपाउने अपेक्षा गरेका छन् ।
उनका अनुसार चीनले आरोप अस्वीकार गरेको छ भने ट्रम्पले पनि उक्त विषय उठाउने आफ्नो योजना नरहेको बताएका छन् । अमेरिकी प्रशासनभित्रै यस विषयमा एकमत नभएकाले पनि विवादले वार्तामा ठूलो स्थान नपाउने उनको विश्लेषण छ ।
‘समग्रमा ट्रम्प प्रशासन अहिलेको तनाव कम भएको अवस्थालाई कायम राख्न चाहन्छ । तर आधारभूत प्रतिस्पर्धा भने कायमै छ,’ उनले भनेका छन् ।
फेरि चर्किएको व्यापार युद्ध
ह्वाइट हाउस फर्किएपछि ट्रम्पले चीनविरुद्ध पुनः व्यापार युद्ध सुरु गरेका थिए । त्यसयता दुई नेताबीच तनाव कम गर्ने उद्देश्यले तीनपटक प्रत्यक्ष भेटवार्ता भइसकेको छ ।
एकअर्काविरुद्ध भन्सार शुल्क बढाउने प्रतिस्पर्धाका क्रममा अमेरिकी सामानमा चिनियाँ शुल्क १४५ प्रतिशत र चिनियाँ सामानमा अमेरिकी शुल्क १२५ प्रतिशतसम्म पुगेको थियो ।
अन्ततः गत वर्ष अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भएको भेटपछि ट्रम्प र सी व्यापार युद्धलाई केही समयका लागि रोक्न सहमत भएका थिए ।
उक्त सहमति सुरुमा नोभेम्बर १० सम्मका लागि थियो । पछि दुवै देशले अवधि थपेपछि यो सन् २०२७ जनवरी १० सम्म कायम रहने तय भएको छ ।
बुधबार दुईदिने एपेक शिखर सम्मेलनको उद्घाटनका क्रममा सीले संरक्षणवाद र एकपक्षीय नीतिको विरोध दोहोर्याएका छन् ।
उनले सबै देशलाई स्वतन्त्र तथा खुला व्यापार र लगानीका साथै समावेशी एवं सन्तुलित विकासलाई समर्थन गर्न आग्रह गरेका छन् ।
चीनको रेनमिन विश्वविद्यालयअन्तर्गत ग्लोबल लिडरसिप स्कुलका डिन वाङ वेनले अलजजिरासँग भनेका छन्, ‘यो भेटको मुख्य उद्देश्य दुई ठूला शक्तिबीचका जोखिम व्यवस्थापन गर्नु हो । यसबाट व्यापक र ऐतिहासिक सम्झौता हुने अपेक्षा गरिएको छैन ।’
उनका अनुसार चीन दुई देशबीचको सम्बन्धलाई पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वको बाटोमा फर्काउन चाहन्छ । साथै शीतयुद्धकालीन गुटगत प्रतिस्पर्धाजस्तो अवस्था आउन नदिन पनि चीनको जोड रहनेछ ।
गत सेप्टेम्बरमा वासिङ्टनमा भएको ट्रम्प र सीको भेट भव्य समारोहका बीच सम्पन्न भए पनि व्यापार युद्धको अवधि थप्ने सहमतिबाहेक ठोस उपलब्धि सीमित थिए ।
त्यस भेटमा एआई सुरक्षासम्बन्धी घटनामा सूचना आदानप्रदान गर्न सञ्चार संयन्त्र स्थापना गर्ने र ६० अर्ब डलर बराबरका सामानमा भन्सार शुल्क घटाउने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।
दुई देशबीचको अर्को प्रमुख विवाद अमेरिकातर्फ दुर्लभ खनिज (रेयर अर्थ)को निर्यातमा चीनले लगाएको प्रतिबन्ध हो ।
वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका अनुसार अमेरिकातर्फ चीनको दुर्लभ खनिज निर्यात सामान्य अवस्थाको तुलनामा अझै करिब ७५ प्रतिशत कम छ ।
सिंगापुरस्थित हिनरिक फाउन्डेसनकी व्यापार नीतिप्रमुख डेबोरा एल्म्सले पछिल्ला घटनाक्रमले वार्ताबाट उपलब्धि हासिल हुने अपेक्षा घटाएको बताएकी छन् ।
उनका अनुसार अमेरिकी मध्यावधि निर्वाचनको नतिजा र एनभिडिया विवादपछि दुवै नेताले कुनै विवादबिना हात मिलाउन सके पनि त्यसलाई उपलब्धिका रूपमा हेरिने अवस्था छ ।
उनले अमेरिकी पक्षमा चीनसम्बन्धी नीतिलाई लिएर अनिश्चितता बढेको बताइन् । एनभिडियाको चिप चीन पुगेको विवादले ट्रम्प प्रशासनभित्रकै मतभेद बाहिर ल्याएको उनको भनाइ छ ।
जनवरीमा अमेरिकी कंग्रेसमा नयाँ सांसदहरू प्रवेश गर्ने भएकाले चीनप्रति डेमोक्रेटिक पार्टीको धारणा कस्तो रहने भन्ने पनि स्पष्ट नभएको उनले बताएकी छन् । रिपब्लिकन सांसदहरू पनि चीन नीतिमा ट्रम्पसँग कति निकट रहने भन्नेमा स्पष्ट नरहेको उनको विश्लेषण छ ।
दुई घण्टाको वार्तामा सीमित विषयमा छलफल
जर्जटाउन विश्वविद्यालयका सहायक प्राध्यापक तथा अमेरिकी राष्ट्रिय सुरक्षा निकायका पूर्वअधिकारी डेनिस वाइल्डरका अनुसार ट्रम्प र सीबीच करिब दुई घण्टा मात्रै वार्ता हुने अपेक्षा छ ।
विगतका भेटवार्ताको तुलनामा यसपटक छलफलका लागि समय निकै कम हुनेछ । त्यसैले शिखर सम्मेलनकै क्रममा व्यापार युद्धविरामको अवधि थप्ने घोषणा हुने सम्भावना पनि कम रहेको उनले बताएका छन् ।
उनका अनुसार विभिन्न औपचारिक कार्यक्रमका कारण दुई नेताले सीमित विषयमा मात्रै छलफल गर्न पाउनेछन् ।
वाइल्डरका अनुसार चीनले अमेरिकाले नयाँ प्रविधिमा लगाएको निर्यात नियन्त्रणप्रति असन्तुष्टि जनाउनेछ । अमेरिकाले भने चीनले कृषि उत्पादनको आयात र दुर्लभ खनिज निर्यातसम्बन्धी सहमति कार्यान्वयन नगरेको विषय उठाउनेछ ।
वार्तामा एआईका विषयमा सामान्य छलफल हुन सक्ने भए पनि एनभिडिया विवादले भने प्रवेश नपाउने उनको अनुमान छ ।
उनले भनेका छन्, ‘ट्रम्पको उद्देश्य वासिङ्टन शिखर सम्मेलनमा आफू र सीले घोषणा गरेको रणनीतिक स्थिरतालाई निरन्तरता दिनु हो ।’


