
साल्ट ट्रेडिङ कर्पोरेशनको नाफा ७७ प्रतिशतले बढ्यो, इपीएस कति ?
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्ममा खुद नाफा ७७.७२ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफामा उक्त वृद्धि देखिएको हो ।
कम्पनीले यो अवधिमा २ करोड ५२ लाख ४६ हजार ५४९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १ करोड ४२ लाख ६ हजार ३१९ रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाकिसमा २ अर्ब २४ करोड ३६ लाख ५४ हजार रुपैयाँ रहेको बिक्री आम्दानी बढेर चालु वर्षको सोही अवधिमा ४ अर्ब ३१ करोड २९ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको बिक्री आम्दानी ९२.२३ प्रतिशतको बढेको हो ।
बिक्री आम्दानी बढे पनि कम्पनीको कुल मुनाफा भने २७ करोड ६ लाख ३० हजार रुपैयाँबाट घटेर २३ करोड ७२ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ । तर कम्पनीको ब्याज खर्चमा आएको उल्लेख्य गिरावटले खुद नाफा बढाउन सहयोग पुगेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको ब्याज खर्च १४ करोड ५० लाख रुपैयाँबाट घटेर ७ करोड ५ लाख ७४ हजार रुपैयाँमा झरेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.४३ रुपैयाँबाट बढेर ७.१९ रुपैयाँ पुगेको छ भने वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २८.७६ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३८०.०९ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) १९४.४३ गुणा रहेको छ।


