
रिलायबल लाइफको नाफा करिब २३ कराड, अन्य सूचक कस्ता ?
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासिक (साउन–असोज)सम्मको अवधिमा करिब २३ करोडको नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको हो ।
वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोजसम्म आर्जन गरेको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३९ प्रतिशतले कम हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १९ अर्ब ४० करोड ९५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार ३५.३१ प्रतिशतले बढेको छ ।
चालु वर्षको असोजसम्म कम्पनीले १ अर्ब ८६ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २३.०६ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २३.८५ प्रतिशतले बढेको छ।
चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा वर्षसम्म सेयर प्रिमियममा १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३१ करोड ३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ लाख १४ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म सेयर प्रिमियममा १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २८ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८१ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७३ लाख रुपैयाँ थियो।
चालु आर्थिक वर्षको असोजसम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १७.६३ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १९.९० रुपैयाँ थियो । पीई रेसियो २६.०३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५२.४५ रुपैयाँ रहेको छ।


