
रोकिराखेको जीपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु
कास्की । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगङ्गा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए।
पोखरा–५ जिरो किलोमिटर नजिक दिउँसो अन्दाजी २ः५० बजे रोकिराखेको लु३च ५२७४ नम्बरको बोलेरो जिपमा ग२३प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किदाँ गम्भीर घाइते दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रमममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बोलेरो जिपका चालक पोखरा–२८ कालिका बस्ने ४८ वर्षीय अृमत बजगाईँ र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक देवकोटाले बताए।


