
इरानद्वारा अमेरिकासँगको वार्ता अस्वीकार: सर्त पूरा नभएसम्म होर्मुज नखुल्ने
काठमाडौं । इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले तेहरानले वार्ताका लागि अमेरिकाअघि सारेका सातवटा सर्तको जवाफ पर्खिरहेको बताएका छन्। यसका साथै उनले वासिङ्टनसँग कुनै किसिमको नयाँ वार्ता भइरहेको भन्ने कुराको खण्डन गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि सकारात्मक वातावरण बनेको बताएपछि कूटनीतिक समाधानको आशा बढेका बेला रेजाईको यो भनाइ आएको हो। ट्रम्पले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँगको भेटपछि इरानमाथि थप आक्रमणको आवश्यकता नरहेको बताएका थिए।
यद्यपि, रेजाईले कतारमा वार्ता भइरहेको भन्ने खबरलाई पूर्ण झुट भन्दै अमेरिकाले आर्थिक दबाब कम गर्न र तेलको मूल्य घटाउन वार्ताको चर्चा चलाएको आरोप लगाएका छन्। इरानले बन्द गरेको होर्मुज जलडमरू मध्य अमेरिकी सर्त पूरा नभएसम्म नखुल्ने र अमेरिकाको पहिलो प्रतिक्रिया अपर्याप्त र भ्रमपूर्ण रहेको उनले बताए। इरानी विदेशमन्त्री अब्बास अरागचीका अनुसार सर्तहरू जसमा प्रतिबन्ध र समुद्री नाकाबन्दी हटाउने विषय समावेश छन्) पूरा भएमा दुई दिनभित्रै होर्मुज खुल्न सक्नेछ।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि वासिङ्टन कूटनीतिका लागि तयार रहेको र आर्थिक प्रतिबन्धहरू निकै प्रभावकारी भएकाले अहिल्यै ठुलो सैन्य कारबाहीको आवश्यकता नरहेको बताएका छन्।
उता होर्मुज जलडमरू मध्य क्षेत्रमा भने पानीजहाजहरूमाथि आक्रमण जारी छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले अनधिकृत मार्गबाट हिँडेका तीनवटा तेल ट्याङ्करमा आगो लागेको दाबी गरेको छ। यस महिना मात्रै सो क्षेत्रमा कम्तीमा ३७ वटा जहाजमाथि आक्रमण भइसकेको छ, जुन युद्ध सुरु भएयताकै उच्च संख्या हो।


