
विमानस्थलबाट पक्राउ परेकी गाइनोकोलोजिस्ट डा. ज्योति हाजिर जमानीमा रिहा
काठमाडौं । इन्डोनेसिया जान लागेकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) डा. ज्योति अग्रवाललाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार उनलाई पक्राउ गरेको थियो । पक्राउ परेकी डा. अग्रवाललाई बुधबार भने रिहा गरिएको छ ।
विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल मुख्य प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दामा डा. ज्योति पनि प्रतिवादी रहेकी छन् । उनी दीपेन्द्रकी दिदी हुन् ।
सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार अदालतमा उपस्थित हुने सर्तमा उनलाई हाजिर जमानीमा रिहा गरिएको हो । जटिल स्वास्थ्य समस्याका कारण उनलाई हाजिर जमानीमा छाडिएको उनले बताए ।
सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल गत कात्तिक १९ गते काठमाडौं जिल्ला अदालतबाट १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
डा. ज्योतिको बैंक खाताबाट दीपेन्द्रको खातामा रकम कारोबार भएको देखिएपछि उनलाई पनि उक्त मुद्दामा प्रतिवादी बनाइएको थियो । उनीविरुद्ध अदालतमा फरार प्रतिवादीका रूपमा मुद्दा पेस गरिएको थियो ।


