
चौथो वौद्ध कपको उपाधि एभरग्रिनलाई
म्याग्दी । बेनीमा आइतबार सम्पन्न रु दुई लाख भन्दा बढी पुरस्कार राशिको चौथो वौद्ध कप खुला फुटबल प्रतियोगिताको उपाधि एभरग्रिन युवा क्लबले जितेको छ। बेनी नगरपालिका–७ मङ्गलाघाटमा रहेको बौद्ध युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनलमा मालिका गाउँपालिका–६ दुखुको मितेरी युवा क्लबलाई शून्यका विरुद्ध तीन गोल गर्दै एभरग्रिन विजयी भएको हो।
मनसुन युवा क्लबलाई शून्यका विरुद्ध तीन गोल गर्दै मालिका गाउँपालिका–६ दरवाङको पश्चिम म्याग्दी युवा क्लब तेस्रो भएको आयोजक वौद्ध युवा क्लबका सचिव श्यामशुन्दर कँडेलले जानकारी दिए।
पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु दुई लाख २२ हजार २२२, उपविजेताले रु एक लाख ११ हजार १११ र तेस्रोले रु ५५ हजार ५५५ नगद पुरस्कार प्राप्त गरेका छन्।
अनुशासित घोषणा भएको बरबुटा युवा क्लब खबराले रु २२ हजार २२२ प्राप्त गरेको छ। एभरग्रिनका रोशन छन्त्यालले रु सात हजार ७७७ नगदसहित उत्कृष्ट खेलाडीको उपाधि पाएका छन्।
उत्कृष्ट डिफेन्डर मितेरीका सन्दिप गुरुङ र नौ गोल गरेका पश्चिम म्याग्दीका विपुल कार्की सर्वाधिक गोलकर्ताको उपाधिसहित नगद रु सात हजार ७७७ पुरस्कार पाएका छन्। गोलरक्षकमा एभरग्रिनका आसिस केसी, फरवार्डमा अमृत तामाङ र मिडफिल्डरमा निराजन खत्री उत्कृष्ट भए। उनीहरूले मेडल, ट्रफी र प्रमाणपत्रसहित नगद रु सात हजार ७७७ का दरले पुरस्कार प्राप्त गरे।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, क्लबका अध्यक्ष दुर्गा बुढामगर, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए। दसैँ–तिहार पर्वको अवसरमा कात्तिक १८ गतेदेखि सुरु भएको प्रतियोगितामा १८ टिम सहभागी भएका थिए।
प्रतियोगिता अवलोकनका लागि प्रतिव्यक्ति रु ५० का दरले सङ्कलन गरिएको प्रवेश शुल्कबाट ४० प्रतिशत असोजको दोस्रो साता आएको बाढीपहिरोबाट प्रभावितलाई राहत स्वरूप हस्तान्तरण गरिने क्लबका अध्यक्ष बुढामगरले बताए। उनका अनुसार प्रतियोगिता सञ्चालनबाट बचत भएको रकम क्लबको कार्यालय भवन निर्माण तथा कोष स्थापनामा खर्च गर्ने लक्ष्य रहेको छ।


