
बीमा प्राधिकरणका अध्यक्षद्वारा तिहार, छठ र नेपाल सम्बतको शुभकामना, सुझाव दिन आग्रह
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष राजन बिक्रम थापाले तिहार, छठ र नेपाल सम्बतको अवसरमा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष थापाले एक शुभकामना वक्तव्य जारी गर्दै यी पर्वको शुभकामना व्यक्त गरेका हुन् ।
‘आदरणीय बीमित, बीमक, बीमा व्यवसायी तथा सम्पूर्ण बीमा क्षेत्रका सरोकारवाला दाजुभाइ तथा दिदीबहिनीहरू, नेपालीहरूको महान् पर्व दीपावली (तिहार), नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्षको तर्फबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा समग्र बीमा क्षेत्रसँग आबद्ध महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनको शुभकामाना शन्देशमा भनिएको छ ।
साथै, बीमा क्षेत्र प्रतिको विश्वसनीयता अभिवृद्धि गर्न, बीमितको हित संरक्षण गर्न, बीमाको पहुँच अभिवृद्धि गर्न र बीमा दाबी भुक्तानी प्रक्रियालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाउन प्राधिकरणले निरन्तर कार्य गर्दै आएकोमा आगामी दिनहरूमा पनि समग्र बीमा बजारलाई अझ मर्यादित, प्रतिस्पर्धी र पारदर्शी बनाउदैँ सुशासन कायम गर्न प्राधिकरण प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेका छन् ।
‘उज्यालोको पर्व दीपावलीले हाम्रो घर आँगन मात्र नभई सम्पूर्णको जीवनमा नयाँ आशा र सकारात्मक ऊर्जा सञ्चार गरोस् । साथै, छठी मैया र भगवान् सूर्यको उपासना गरिने पवित्र छठ पर्वले समाजमा एकता, भाइचारा र सद्भावको भावना थप सुदृढ बनोस् भन्ने कामना गर्दछु,’ उनले भनेका छन् ।



