
अपि पावरले बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको २३ औँ वार्षिक साधारणसभा आगामी मंसिर १८ गतेका लागि बोलाएको हो ।
सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने छ । सभा कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन रद्द गर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने, सञ्चालक समितिमा रिक्त सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ८ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


