
रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतको वृद्धि
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको खुद नाफा उल्लेख्य सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उछाल देखिएको हो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ३० करोड ४८ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४२.६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ८८ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ अर्ब २० करोड २९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ रहेको थियो । यसअनुसार कम्पनीको सञ्चालन आम्दानी करिब २८.८ प्रतिशतले बढेको हो ।
कम्पनीको कुल नाफा पनि उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड ६२ लाख ७९ हजार रुपैयाँ रहेको कुल नाफा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर ५६ करोड १६ लाख ७९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको सञ्चालन नाफा १६ करोड ९१ लाख ५१ हजार रुपैयाँबाट बढेर ४० करोड ५७ लाख १५ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय खर्च भने घटेको छ। गत वर्षको सोही अवधिमा ८ करोड ७२ लाख ३५ हजार रुपैयाँ रहेको वित्तीय खर्च समीक्षा अवधिमा घटेर ४ करोड ३८ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको करअघिको नाफा ३६ करोड १८ लाख ४२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ८ करोड १९ लाख १६ हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले ५ करोड ६९ लाख ८२ हजार रुपैयाँ आयकर खर्च छुट्याएको छ ।
वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ४८९ रुपैयाँ ५३ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।


