
जाँतो बनाउने पेसा लोप हुने अवस्थामा
पाँचथर । आधुनिक कुटानी पिसानी मिल गाउँगाउँमा पुगेसँगै ढुङ्गा खोपेर जाँतो बनाउने पेसा लोप हुने अवस्थामा पुगेको छ । परम्परागत रूपमा जाँतो बनाउँदै आएका पाँचथरको हिलिहाङ गाउँपालिका–१ दोरुम्बाका जोगी समुदायले माग घट्न थालेपछि यो पेसा छोड्न थालेका हुन् ।
हिलिहाङ गाउँपालिका–१ र २ मा बसोबास गर्ने जोगी समुदायका युवाले जाँतो बनाउने गर्दथे । जोगी समुदायसँग सीप सिकेर यहाँका तामाङ र दलित समुदायका मानिसले पनि जाँतो बनाउने गरेकामा पछिल्लो समय अधिकांशले पेसा छाड्दै गएका स्थानीय बताउँछन् । जाँतोको माग कम हुनु, रोजगारीका अन्य क्षेत्रमा युवा लाग्नु तथा काम कठिन भएकाले पेसा सङ्कटमा जाने अवस्थामा पुगेको दोरुम्बाका खड्गप्रसाद जोगीले बताए ।
जोगीले २१ वर्षको उमेरदेखि जाँतो बनाउने पेसा गर्दै आएका थिए । उनले जाँतो बनाउन सुरु गर्दा एकजोर मूल्य रु ४० पर्ने जनाए । तत्कालीन समयमा गाउँघरमा खाद्यान्नको अभाव हुँदा पाँच पाथी धान, मकै, कोदोमा पनि एकजोर जाँतो साटेको खड्गप्रसादले सम्झे । “त्यो समयमा जाँचोको माग बढी भए पनि मूल्य कम पथ्र्यो । खानु प¥यो, छोराछोरी पाल्नु पथ्र्यो । चामल किन्न नपाइने अवस्था थियो,” उनले भने, “अहिले एकजोर जाँतोको मूल्य रु तीन हजारसम्म पुगेको छ । तर, पेसा अङ्गाल्ने युवा छैनन् ।”
हाल छिटफुट रूपमा निर्माण हुने जाँतो प्रतिजोर रु दुई हजार ५०० देखि रु तीन हजारसम्ममा बिक्री हुने गरेको खड्गप्रसादले बताए । उनले ६१ वर्ष पुगेसँगै तागतले नभ्याएपछि पेसा छोडेको बताए । “मैले काम छाडेको तीन वर्ष भयो । ढुङ्गा उचाल्नु प¥यो, कुट्नु प¥यो, झम्पल, हम्मर र छिनो चलाउनु प¥यो,” उनले भने, “एकजोर जाँतो बनाउन दुईदेखि तीन दिन लाग्छ । युवा पुस्ताले मात्रै यो काम गर्न सक्छन् ।”
आफूले करिब ४० वर्ष जाँतो बनाउने पेसा अङ्गालेको जनाउँदै खड्गप्रसादले यहाँ निर्माण गरिएका जाँतो नेपालमा काठमाडौँसम्म र पूर्वी भारतका विभिन्न राज्यसम्म पुगेको स्मरण गरे । उनका अनुसार हिलिहाङ–२ मा रहेको बिजुलीभञ्ज्याङ सामुदायिक वनमा पाइने दर्शन र खरी ढुङ्गाबाट जाँतो बनाउने गरिन्छ । दारिम्बाबाट ढुङ्गा पाइने स्थान पुग्न करिब एक घण्टा पैदल यात्रा गर्नुपर्छ । काम कठिन भएकाले पेसा नै सङ्कटमा परेको खड्गप्रसादको भनाइ छ । “मैले छरछिमेकी र छोरानाति पुस्तालाई सीप सिकाएर काम छोडेको हुँ । भीरपहराबाट ढुङ्गा निकाल्नुपर्छ । काम दिने ढुङ्गा निस्कन्छ कि निस्कँदैन भन्ने टुङ्गो पनि हुँदैन”, उनले भने, “बनाइसक्न लागेको जाँतो फुटेर जाँदा पूरै मेहनत खेर जाने अवस्था पनि आउँछ ।”
यहाँ विगतमा पाँच घर जोगी, एक घर दलित र दुई घर तामाङ समुदायले जाँतो बनाउने गरेका खड्गप्रसादले जानकारी दिए । उनका अनुसार नयाँपुस्ताका युवा गाडी चलाउने, फेरि लगाउने, व्यापारव्यवसाय गर्नेतर्फ आकर्षित छन् । कतिपय वैदेशिक रोजगारीमा पनि गएका छन् । “अबका पुस्ताले यो काम गर्दैनन् होला”, उनले भने । यातायातको सुविधा हुनुपूर्वमा यहाँ बनाइएको जाँतो ढाकर, डोको, बोरामा बोकेर पनि लैजाने गरिन्थ्यो ।
दारिम्बाकै नेत्रप्रसाद जोगीले ११ वर्षको उमेरमा जाँतो बनाउने सीप सिकिसकेका थिए । तर उनले पनि यो पेसा छोडेको चार वर्ष भइसकेको जनाए । “धेरै टाढाबाट ढुङ्गा ल्याउनुपर्छ । धेरै दुःख गरेर जाँतो बनाउछौँ । उपभोक्ताले कति महङ्गो भयो भन्नुहुन्छ,” नेत्रप्रसादले भने, “उपभोक्ताले हाम्रो दुःख देख्नुभएको छैन । मैले ढुङ्गा बोक्न प्रयोग हुने डोको सल्लाको ठुटोमा झुण्ड्याएर पेसा छोडेको हुँ ।”
जाँतो बनाउने ढुङ्गा पाउन कठिन हुने, गाउँगाउँमा कुटानी पिसानी मिल पुगेपछि जाँतोको माग कम हुन थालेपछि पुस्तौँदेखि गर्दै आएको पेसामा छाड्नुपरेको नेत्रप्रसादको भनाइ छ । “कतिपय ठाउँबाट अलिअलि माग आउँछ । तर अब जाँतो निर्माण गर्न सकिने अवस्था छैन”, उनले भने ।
नेत्रप्रसादका अनुसार १९३२ सालदेखि यहाँका जोगी समुदायले जाँतो बनाउने काम गरेको इतिहास भेटिएको छ । तत्कालीन समयमा यो पेसा क्रमशः पुस्तान्तरण हुँदै आएको थियो । “काका र दाइसँग काम गर्दागर्दै मैले २०५१ सालदेखि जाँतो बनाउन थालेँ । मैले सुरुआत गर्दा रु ७० मा एकजोर जाँतो बिक्री हुन्थ्यो”, नेत्रप्रसादले भने, “पछि क्रमशः मूल्य पनि बढ्दै गयो । तर जाँतो बनाएर केही प्रगति गर्न सकिएन । भात खाने मेलो मात्रै थियो ।”
खड्गप्रसाद, नेत्रप्रसादलगायत छिमेकीसँग काम गर्दागर्दै दोरुम्बाका मनकुमार नेपालीले पनि जाँतो बनाउन सिके । उनले जाँतो बनाउन थालेको २३ वर्ष भएको बताए । अहिले यहाँ जाँतो बनाउने मनकुमार मात्रै हुन् । “छिमेकीसँग काम गर्दागर्दै यो पेसा जानेको हुँ । तर अहिले काम गर्ने एक्लै भएँ । सबै साथीभाइले छोड्दै गए”, उनले भने, “मैले पनि छोडौँ त भनेको । नगर्दा पनि मन मान्दैन ।”
मनकुमारको भनाइमा अहिले जाँतोको माग थोरै मात्रै हुन्छ । बजारी क्षेत्रबाट पनि सानो आकारको जाँतोको माग हुन्छ । तर, यसको निर्माण धेरै कठिन हुन्छ भने मूल्य कम पर्दछ । बढी सङ्ख्यामा माग भएमा पेसा छोडेकाहरूले पनि निरन्तरता दिने सम्भावना हुन्छ । “धेरै माग आउँदा साथीभाइले पनि काम गर्न सक्छन् । किनकि २० जोरभन्दा बढीको माग आयो भने राम्रै आम्दानी हुन्छ । धेरै जना भएर गर्छौं”, नेपालीले भने, “तर, अब नयाँ पुस्तालाई काम गरौँ न भन्दा मान्दैनन् । काम गर्ने मान्छे नभएपछि यो पेसा लोप भएर जाने अवस्था छ ।”


