
विराटनगरमाथि काठमान्डुको सहज जित
काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ ।विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै पूरा गरेको हो ।
पहिलो खेलमा पराजित भएको काठमान्डुले लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडेको छ र अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । पाँच खेल खेलिसकेको विराटगरको भने यो तेस्रो हार हो र समान ४ अंक भए पनि रनरेटका आधारमा पाँचौ स्थानमा झरेको छ ।
काठमान्डुका लागि अष्ट्रेलियन खेलाडी डेभिड वार्नरले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । २४ बल खेलेका २ चौका र ३ छक्का प्रहार गरे । यस्तै अर्का अष्ट्रेलियन विलियम बोसिस्टोले २४ बलमा ३ चौका प्रहार गर्दै अविजित २३ रन बनाए । दोस्रो विकेटका लागि वार्नर र बोसिस्टोले अविजित ७९ रनको साझेदारी गरेका थिए । ओपनर साहिल पटेलले ११ बलमा १० रन बनाएर आउट भए । विराटनगरका लागि अपराजित पौडेलले १ विकेट लिए ।
त्यअसघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर विराटनगर किंग्स १९.३ ओभरमा ८३ रनमा अलआउट भएको थियो ।
विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ रगेका रुपेश सिंहले २७ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक २६ रन बनाए । रुपेशसँगै एन्जेलो म्याथ्युज र बसिर अहमदले मात्र विराटनगरका लागि दोहोरो अंकमा रन बनाउन सके । म्याथ्युजले ३१ बल खेलेर २२ रन जोड्दा बसिर अहमदले १० रन बनाए ।
शेहान जायसूर्या ५, लोकेश बम ६, आन्द्रे रसेल ३ र अपराजित पौडेल २ रनमा आउट भए भने इमरान शेख, नारायण जोशी र शुभम रन्जानेले खाता समेत खोल्न सकेनन् । कप्तान सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।
विराटनगरका लागि पहिलो विकेटका शेहान जयासूर्या र लोकेश बमले ११ रनको साझेदारी गरेका थिए । त्यसपछि साझेदारी गर्न संघर्ष गरेको विराटनगरले ३५ रनमै ७ विकेट गुमाएको थियो । एन्जेलो र रुपेशले आठौं विकेटका लागि ४० बलमा ३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका हुन् ।
आठौं विकेटका लागि एन्जेलो म्याथ्युज र रुपेश सिंहले गरेको साझेदारी नै सर्वाधिक रनको साझेदारी गरे । काठमान्डुका लागि युवा बलर सन्तोष यादवले ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सहान अराचिगेले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । जहानदान खानले ३.३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कप्तान करण केसी, शाहब आलम र देव शाहले १-१ विकेट लिए ।


