
जीवन बीमक संघद्वारा बीमा प्राधिकरणका अध्यक्ष थापालाई बधाई, बीमा क्षेत्रको विकास र विस्तार हुने अपेक्षा
काठमाडौं । जीवन बीमक संघ नेपालका प्रतिनिधिमण्डलले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापालाई भेट गरी बधाई ज्ञापन गर्दैै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
जीवन बीमक संघका अध्यक्ष प्रविन रमण पराजुलीको नेतृत्वमा गएको टोलीले अध्यक्ष थापालाई भेट गरी बधाई ज्ञापन गरेको हो । भेटका क्रममा संघका प्रतिनिधिहरूले नवनियुक्त अध्यक्ष थापाको नेतृत्वमा नेपालको बीमा क्षेत्रले थप व्यावसायिकता, पारदर्शिता, संस्थागत सुशासन तथा दीगो विकासको दिशामा महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेको छ । साथै, अध्यक्ष थापाको अनुभव, कार्यक्षमता तथा नेतृत्वदायी भूमिकाले बीमा क्षेत्रको नियामकीय व्यवस्था थप प्रभावकारी, समयसापेक्ष र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गरेको छ ।
सो अवसरमा जीवन बीमा क्षेत्रको वर्तमान अवस्था, यस क्षेत्रले सामना गरिरहेका चुनौतीहरू तथा अवसर, बीमाको पहुँच र दायरा विस्तार, बीमाप्रतिको जनविश्वास अभिवृद्धि, बीमा साक्षरता प्रवद्र्धन तथा सेवाको गुणस्तर सुधारलगायतका विषयमा समेत छलफल भएको थियो ।
संघका प्रतिनिधिहरूले बीमा क्षेत्रको विकास र विस्तारका लागि आवश्यक नीतिगत सुधार, व्यावहारिक नियामकीय व्यवस्था तथा संस्थागत क्षमता अभिवृद्धिका विषयमा नेपाल बीमा प्राधिकरणसँग निरन्तर सहकार्य र रचनात्मक साझेदारी गर्न जीवन बीमा संघ नेपाल प्रतिबद्ध रहेको धारणा व्यक्त गरेकोछ ।
नवनियुक्त अध्यक्ष थापाले संघका प्रतिनिधिहरूबाट प्राप्त बधाई तथा शुभकामनाप्रति आभार व्यक्त गर्दै बीमा क्षेत्रको समग्र विकास, स्थायित्व, पारदर्शिता तथा सुशासन अभिवृद्धिका लागि सम्बन्धित सबै सरोकारवालासँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जीवन बीमक संघ नेपालले नवनियुक्त अध्यक्षको सफल, उपलब्धिमूलक तथा ऐतिहासिक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै अध्यक्ष थापाको नेतृत्वमा नेपालको बीमा क्षेत्रले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।


