
राष्ट्र बैंकको निर्देशन : बैंक तथा वित्तीय संस्थामा ‘साइबर स्क्याम प्रतिकार्य केन्द्र ’ का लागि सम्पर्क अधिकृत तोक्नु
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रसँग समन्वय गर्न बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकलाई सम्पर्क अधिकृत तोक्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले सम्पूर्ण विकास बैंक, वित्त कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा ई–सेवा र आईएमई खल्तीबाहेकका भुक्तानी सेवा प्रदायकलाई पत्राचार गर्दै सम्पर्क अधिकृतको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।
नेपाल सरकार, गृह मन्त्रालयको २०८३ असोज २३ गतेको निर्णयअनुसार स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको स्थापना र सञ्चालनसम्बन्धी दिग्दर्शन, २०८३’ अनुसार यस्तो व्यवस्था गर्न लागिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोबाट केन्द्रको कार्य सञ्चालनमा समन्वय, सहकार्य तथा सहजताका लागि सम्पर्क अधिकृत माग भई आएको राष्ट्र बैंकले जनाएको छ।
निर्देशनअनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले २४ सै घण्टा उपलब्ध हुन सक्ने एक जना सम्पर्क अधिकृत तोक्नुपर्नेछ। उनीहरूको नामथर, फोन नम्बर र कार्यालयको इमेल ठेगानासहितको विवरण राष्ट्र बैंकमा पठाउनुपर्नेछ।
उक्त विवरण २०८३ कात्तिक १९ गते बेलुका ३ बजेसम्म राष्ट्र बैंकको सम्बन्धित विभागको इमेल ठेगानामा उपलब्ध गराउन निर्देशन दिइएको छ।
यस व्यवस्थाले साइबर स्क्याम तथा वित्तीय ठगीका घटनामा सम्बन्धित वित्तीय संस्था र प्रतिकार्य केन्द्रबीच तत्काल समन्वय तथा सूचना आदानप्रदान गर्न सहज हुने अपेक्षा गरिएको छ।



