
एनआईसी एशिया बैंकमा रोजगारीको अवसर
काठमाडौं । एनआईसी एशिया बैंकले प्रमुख सुरक्षा अधिकृत (चिफ सेक्युरिटी अफिसर) पदमा कर्मचारी माग गरेको छ। बैंकले एक जना कर्मचारी नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको हो।
बैंकले करार सेवामा पदपूर्ति गर्न लागेको उक्त पदका लागि योग्य तथा अनुभवी व्यक्तिबाट आवेदन माग गरेको छ। इच्छुक उम्मेदवारले कात्तिक २ गतेसम्म आवेदन दिन सक्नेछन्। बैंकका अनुसार प्रमुख सुरक्षा अधिकृतले बैंकको समग्र सुरक्षा व्यवस्थापनको नेतृत्व गर्नुपर्नेछ। बैंकका कर्मचारी, ग्राहक, कार्यालय, सम्पत्ति तथा बैंकिङ गतिविधिको सुरक्षा सुनिश्चित गर्नु यस पदको मुख्य जिम्मेवारी हुनेछ।
यस पदमा नियुक्त हुने व्यक्तिले बैंकका शाखा कार्यालय, कर्पोरेट कार्यालय, एटीएम, नगद व्यवस्थापन केन्द्रलगायतका सम्पत्तिको सुरक्षा व्यवस्था मिलाउनुपर्नेछ। साथै सुरक्षा नीति तथा कार्ययोजना बनाउने, सम्भावित जोखिम पहिचान गर्ने र त्यसलाई कम गर्ने उपाय अपनाउनुपर्नेछ।
त्यसैगरी सुरक्षा कर्मचारी तथा बाह्य सुरक्षा सेवा प्रदायकको व्यवस्थापन, सीसीटीभी, अलार्म र प्रवेश नियन्त्रण प्रणालीको निगरानी पनि प्रमुख सुरक्षा अधिकृतको जिम्मेवारीमा रहनेछ। आपत्कालीन अवस्था तथा संकट व्यवस्थापनका योजना बनाउने र नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सम्बन्धित निकायसँग समन्वय गर्नुपर्नेछ।
यस पदका लागि व्यवस्थापन, सुरक्षा व्यवस्थापन, कानुन वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल वा मान्यता प्राप्त सुरक्षा तथा कानुन कार्यान्वयन गर्ने संस्थामा कम्तीमा १० वर्ष काम गरेको अनुभव आवश्यक पर्ने बैंकले जनाएको छ। वरिष्ठ पदमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
बैंकिङ वा वित्तीय संस्थाको सुरक्षा व्यवस्थापनमा काम गरेको अनुभव भएका उम्मेदवारलाई थप प्राथमिकता दिइनेछ। साथै सुरक्षा व्यवस्थापन, जोखिम मूल्यांकन तथा निगरानी प्रणालीसम्बन्धी राम्रो ज्ञान, नेतृत्व क्षमता, संकट व्यवस्थापन, निर्णय क्षमता र उच्च व्यावसायिक आचरण भएको हुनुपर्ने बैंकले जनाएको छ।



