
घाटा सुधार गरेर नाफामा खानीखोला हाइड्रोपावर
काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड घाटाबाट नाफामा फर्किएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ करोड नाफा कमाएको हो ।
वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ३ करोड ६५ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ करोड ८९ लाख १४ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । समीक्षा अवधिमा विद्युत् बिक्री आम्दानीमा भएको भारी वृद्धि र सञ्चालन दक्षतामा आएको सुधारले कम्पनीलाई सकारात्मक दिशामा फर्काउन मुख्य भूमिका खेलेको छ ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी २७६ प्रतिशतभन्दा बढीले बढेर ६ करोड ८५ लाख २२ हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको असोज मसान्तमा १ करोड ८२ लाख २१ हजार रुपैयाँ मात्र रहेको थियो । हाल कम्पनीका दुवै आयोजनाहरूबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेकाले आम्दानीमा यो उत्साहजनक उछाल आएको हो । आम्दानी वृद्धिसँगै कम्पनीको सञ्चालन नाफा १ करोड १५ लाख रुपैयाँबाट बढेर ५ करोड ७३ लाख ५९ हजार रुपैयाँ पुगेको छ । यसै अवधिमा कम्पनीको बैंक ब्याज खर्च १ करोड ९३ लाख रुपैयाँबाट घटेर ९१ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ ।
वित्तीय सुदृढतासँगै कम्पनीको सञ्चित नोक्सानीमा पनि उल्लेख्य कमी आएको छ । गत वर्ष १६ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष यस वर्षको असोज मसान्तसम्ममा घटेर ८ करोड ५८ लाख रुपैयाँ ऋणात्मक अवस्थामा झरेको छ । कम्पनीको चुक्ता पूँजी ९३ करोड १४ लाख २८ हजार रुपैयाँ रहेको छ भने दीर्घकालीन ऋण घटेर ५९ करोड ४५ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीका प्रमुख वित्तीय सूचकहरूमा पनि सकारात्मक परिवर्तन देखिएका छन् । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी गत वर्षको ऋणात्मक अवस्थाबाट सुध्रिएर १५ रुपैयाँ ७१ पैसा धनात्मक बनेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ७८ पैसा कायम भएको छ ।


